तपाईँ सुन्दै हुनुहुन्छः

चियामा एकपछि अर्को उपलब्धि

इलाम- चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धि हासिल भएको छ । प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धिलाई सुधारको सङ्केतका रूपमा हेरिएको छ । कोरोना महामारीले विश्व बजारमा सङ्कटमा परेको छ तर चियामा भने असर पर्नुको सट्टा उपलब्धि हासिल भएको छ ।

तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरियो । लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगी भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन् ।

नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन(इयु)मा दर्ता गरियो ।

भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर बजार पुग्ने भएको छ । “लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ”, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भन्नुभयो । उद्योगले आफ्नै उद्योगको लोगो लगाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउँथे । अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइयो ।

अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिन्ने चिनिने भएको छ । “स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भन्नुभयो, “सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ ।”

नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चियाभन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो ।

चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपर्यो । अब नेपाली चिया स्वायत्त भएको र अन्तर्राष्ट्रिय बजार बढ्ने चिया विज्ञ चन्द्रभूषण बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button