तपाईँ सुन्दै हुनुहुन्छः

सैनिक श्रीमतीद्वारा बृद्धसहित १२ जनालाई ह्विल चेयर वितरण

राजविराज । सैनिक श्रीमती संघले सप्तरीका १२ जना फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई बिहीबार एक समारोहबीच ह्विल चेयरसहित विभिन्न सामग्री प्रदान गरेको छ ।

सामाजिक अभियन्ता सुनिता कुमारी साहले २९आँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजना गरेको सो कार्यक्रममा १०५ वर्षका बृद्धदेखि पाँच वर्षसम्मका अपाङ्गहरुलाई ह्विल चेयर वितरण गरेको हो ।

संघले एक÷एक थान मन्डी, बिस्कुट एक दर्जन, जुस र अभियन्ता डा. शरदसिंह यादवले एक÷एक थान थप कम्बल वितरण गरेको छ ।

जिल्लाको बनौलाका ८ वर्षीय आरएन चौधरी, थलहीका ७ वर्षीय मो. शाहिद, विसनपुरका ५ वर्षीया अनिता मण्डल, कट्टीका ४५ वर्षीय नरेन्द्र महतो, खडका १० वर्षीय दुखीलाल चौधरी, पौवाँका ६ वर्षीया ज्योतिकुमारी मण्डल, बोदेबर्साइनका ९ वर्षीय रामअवतार मण्डल, बनौलाका १०५ वर्षीय कलरु चौधरी, कट्टीका १४ वर्षीय गजेन्द्र मेहता, डाक्नेश्वरीका १३ वर्षीया मरजिना खातुन, डाक्नेश्वरीकै १३ वर्षीय शिवशंकर खंग र जनडौलका ३७ वर्षीया पविताकुमारी चौधरीलाई ह्विल चेयरसहित सामग्री प्रदान गरिएको छ ।

सैनिक श्रीमती संघका सदस्य सुप्रिया थापाले ह्विल चेयरसहित राहत सामग्री वितरण गर्दै शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुको जनजीवनमा सहजता ल्याउन टेवा पुग्न यस्तो कार्य गरेको बताउनुभयो । संघले निरीह बालबालिका, महिला, ज्येष्ठ नागरिक, कोभिड प्रभावित लगायत विभिन्न क्षेत्रमा मानवीय सेवाका कार्यहरु गरिदै आएको जानकारी दिँदै भन्नुभयो, सेवा नै धर्म हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button