तपाईँ सुन्दै हुनुहुन्छः

तीन दिन देखि बेपत्ता हुसेन मृत अवस्थामा फेला

वीरगंज । तीन दिनदेखि वेपत्ता पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ निवासी नामुल हुसेनको धोविनीमा नहरको किनारमा मृत अवस्थामा शव फेला परेको छ ।

पर्सा जिल्लाको धोबिनी गाउँपालिका वडा नम्बर १ नहरको डिलमा २६ बर्षीय नामुल हुसेनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घरबाट गत मंसिर १४ गते छिमेकी साथी बलिराम पटेलको विवाहमा धोबिनी गाउँपालिका वडा नम्बर १ भिखमपुर स्थित जन्ती जान भनेर आफ्नै दुईजना साथीले घरबाट बोलाएर लगेकोमा जन्ती नगई सोही दिनबाट बेपत्ता भएकोमा आज विहान उनको शव नहर किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

हुसेनको दाहिने आँखामा गम्भिर चोक लागेको र आँखा समेत नभएको अवस्थामा शव बरामद भएको हुँदा उनको हत्या गरिएको हुन सक्ने परिवारजनले बताएका छन् ।

हुसेनलाई जन्ती जान भनेर घरबाट बोलाएर ल्याएका दुई छिमेकी साथीहरु घटनापछि फरार रहेका छन् ।

तीन दिनदेखि वेपत्ता रहेका हुसेनको शवलाई आज विहान धोविनीका स्थानिय वासिन्दाले नहर किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय पोखरीया, लंगडी तथा आसवारी चौकीका नेपाल प्रहरी र भिखमपुर स्थित सशस्त्र प्रहरी बेस क्याम्पसका सुरक्षाकर्मीहरुले शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button