तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्सामा थप १५ अस्पतालको शिलान्यास

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बाराको झिटकैयामा निर्माण गर्न लागिएको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको आज एक समारोहबीच शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले ५० बेड क्षमताको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल प्रदेशकै लागि गौरवको आयोजना भएको बताउनु भयो ।

मुख्यमन्त्री राउतले संघीय, प्रदेश र स्थानिय सरकारको आपसी सहमति र समन्वयबाट मात्रै विकास र समृद्धि हासिल गर्न सकिने बताउदै विकासको सन्दर्भमा सबै दल एक जुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले बाराको झिटकैयामा काठमाडौको टेकु अस्पताल आएको बताउँदै कोरोना सँगसँगै धेरै सरुवा रोगहरु नियन्त्रणमा यो अस्पतलाको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो ।

मुख्यमन्त्री राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल सँगसँगै भोली आफू रहे पनि नरहेपनि झिटकैयामा मेडिकल कलेज स्थापना गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने झिटकैयामा झण्डै ३३ करोडको लागतमा प्रदेशको पहिलो सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको आज शिलान्यास भएको हो ।

कार्यक्रममा संघिय सांसदहरु, प्रदेश सभाका सदस्यहरु, प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयका सचिव, जिल्ला स्थित प्रहरी प्रशासनका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसैगरी, आजै पर्सा र बाराका गरी थप १५ अस्पतालको शिलान्यास भएको छ ।

पर्साको ठोरी गाउँपालिकाको ठोरी स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पतालको शिलान्यास गरिएको छ भने पटेर्वा सुगौली गाउँपालिकाको पटेर्वा सुगौली स्वास्थ्य चौकीमा १० बेडको अस्पताल, जिराभवानी गाउँपालिकाको सेढवा स्वास्थ्य चौकीमा १० बेडको र धोविनी गाउँपालिकाको भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पतालको शिलान्यास गरिएको छ ।

बाराको करैयामाई गाउँपालिका अन्तर्गत हरैया स्वास्थ्य चौकी, देवताल गाउँपालिका अन्तर्गत पिप्राढी स्वास्थ्य चौकी, प्रसौनी गाउँपालिका अन्तर्गत प्रसौनी स्वास्थ्य चौकी, विश्रामपुर गाउँपालिका अन्तर्गत विश्रामपुर स्वास्थ्य चौकीमा अस्पतालको शिलान्यास गरिएको छ ।

त्यसै गरी बाराको निजगढ, कोल्हबी नगरपालिका तथा फेटा र सुवर्णपुर गाउँपालिकामा समेत अस्पताल भवन निर्माणको लागि शिलान्यास सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयले वारा र पर्साका थप १५ वटा अस्पतालको शिलान्यासका लागि यस अघि नै आवश्यक व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button