राजस्वको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थ मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरु लगायतको सहभागितामा सोमवार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ ले सिर्जना गरेका चूनौतीहरुको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताउनुभयो ।
डर, त्रास सिर्जना गरेर कर्मचारीहरुलाई काममा नलगाउने स्पष्ट पार्दै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदर सहित काम गर्ने अनुकुल परिस्थिति सिर्जना गरेर परिणाम निकाल्ने बताउनुभयो ।
उहाँले नियतवश त्रुटी, कमजोरी गर्ने र असल मनसायबाट विचलित हुने कर्मचारी लगायत जो कोहीलाई पनि नछोड्ने बताउनु भयो ।
अर्थमन्त्री पौडेलले कोभिडका कारण तल झरेर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा धेरैलाई सम्मान गर्ने वातावरण बनाउन पनि अनुरोध गर्नु भयो ।
अर्थमन्त्री पौडेलले समस्या र समाधानबारे कर्मचारीहरु जानकार रहेको बताउँदै आफ्नै तहमा समाधान गर्न र आवश्यकता परे मात्र नेतृत्वलाई भन्न आग्रह गर्नु भयो ।
अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गर्नु भयो ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको छलफल कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताउनुभयो । उहाँले राजस्वको लक्ष्य पूरा गर्न र त्यो भन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकता अनुसार कार्यक्रम संशोधन र रणनीतिहरु बनाएर अघि बढ्न निर्देशन दिनु भयो ।
राजस्व सचिव रामशरण पुडासैनीले राजस्वको चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्