तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका विभिन्न विद्यालयमा आजदेखि कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका विभिन्न विद्यालयमा कक्षा ११ को परीक्षा आजदेखि सञ्चालन भएको छ ।

गत जेठ महिनामै सम्पन्न हुनु पर्ने शैक्षिक सत्र २०७६ को परीक्षा आजदेखि सञ्चालन भएको हो ।

कोरोना भाइरसको प्रकोपका कारण सञ्चालन हुन नसकेको उक्त परीक्षा अहिले ढिलो गरी सञ्चालन भएको मणिलेक माध्यमिक विद्यालय गुरु खोलाका प्रधानाध्यापक केशबदत्त भट्टले बताउनुभयो ।

अहिले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने भएपछि केही विद्यालयले गत महिनामा परीक्षा सम्पन्न गरिसकेका छन् भने, धेरैजसो विद्यालयले आजदेखि परीक्षा सञ्चालन गरेका हुन् ।

यही मङ्सिर ८ भित्र परीक्षा सम्पन्न गरिसक्नु पर्ने परिपत्र आए अनुसार आफूहरूले आजदेखि परीक्षा सञ्चालन गरेको मणिलेक मा बिका प्रधानाध्यापक भट्टले बताउनुभयो ।

यस्तै वासुदेव मावि लिस्कीटा, नेपाल राष्ट्रिय मावि ग्वानी, कुलौन मावि दुर्गा भवानी, सनातन धर्म मावि श्रीकोटलगायतका विद्यालयमा परीक्षा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच कक्षा ११ को प्रश्न पत्र समेत यसपालि विद्यालयले नै तयार गरेकाछन् । कक्षा ११ को सन्दर्भमा अबदेखि विद्यालयले नै परीक्षा सम्पन्न गर्ने छ भने, कक्षा १२ मा मात्रै बोर्ड परीक्षा हुने बताइएको छ ।

कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गरे पनि परीक्षाको गुणस्तर भने नखस्किने शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।

विद्यार्थीका हरेक क्रृयाकलाप शिक्षकहरूलाई थाहा हुने भएकाले परीक्षा गुणस्तरीय नै हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button