तपाईँ सुन्दै हुनुहुन्छः

फुल उत्पादकलाई भ्याइ नभ्याई (फोटोफिचर)

      
तनहुँ । शुक्ल गण्डकी नगरपालिका ३ की दुर्गा खत्री यत्तिखेर धेरै नै व्यस्त छिन् । पाँच जनाको समूहमा लगाएको फुलखेती र तिहारमा सयपत्री फुलको मालाको माग बढेसँगै  उहाँ पछिल्ला दिन बिहानदेखि बारीमा नै व्यस्त देखिनुहुन्छ ।
फुल खेतीबाट राम्रो फाइदा हुने अपेक्षा लिनुभएकी खत्रीलाई आजभोलि कवासेमा रहेको सयपत्री एग्रो फर्ममा माला उन्दै गरेको अवस्थामा देख्न सकिन्छ ।
अघिल्लो बर्ष रहरले लगाएको फुलले राम्रो आम्दानी दिएपछि यसवर्ष पनि फुल खेती गरेको उहाँ बताउनुहुन्छ । उहाँले बजारमा माग भए अनुसार माला पु¥याउन नसक्दा फुल खेती गर्ने उत्साह थपिएको बताउनुहुन्छ ।
खत्रीसँगै  माला उनिरहेका अर्का किसान माधवराज खनालले फुललाई बर्षै भरि उत्पादन गर्न सकिने भएता पनि खपत गर्ने बजार पायक नपर्दा उत्पादन गर्न नसकिएको बताउनुभयो । “मन्दिरको नजिक भएको भए राम्रो हुन्थ्यो, चाँडबाडमा त पु¥याउनै गाह्रो भएको छ” खनालले भन्नुभयो “एक थुँगाकै पाँच रुपैयाँ पर्ने भएकाले राम्रै आम्दानी हुने रहेछ । ” खनालसँग अन्य पाँच जना सदस्यले सामूहिक रूपमा लगाएको फुल बेचेर तिहारमा मात्र झन्डै १ लाख ५० हजार आम्दानी गर्ने उनीहरूको योजना रहेको छ ।
सयपत्री एग्रो फर्मसँगै शुक्लागण्डकी नगरपालिका वडा न ९ सुरौदी किनारमा सयपत्री फुल फुलाएका ऋषेश्वर भुवाईले फुल खेतीमा आर्थिक समृद्धिको सम्भावना प्रचुर रहेको बताउनुभयो ।
उहाँले बजारमा फुलको मागले उत्साह जगाएको भन्दै भारतीय फुललाई अझै पनि विस्थापित गर्न नसक्नु नेपाली कृषकहरुका लागि लज्जाका विषय भएको बताउनुहुन्छ । “ विषादी हालेको भारतीय फुल उपभोग गर्नुपर्ने  बाध्यतालाई हटाउन सम्भावना नै सम्भावना रहेको फुल खेती गर्नु उपयुक्त छ ।” उहाँले भन्नुभयो ।
भुवाईले फुल खेती गर्न इच्छुक कृषकहरुलाई प्राविधिक ज्ञानका कमि हुने गरेको भन्दै फुल खेती सम्बन्धी तालिमको आवश्यकता ल्याउनुभयो ।
जिल्लाकै भिमाद नगरपालिका ८ मा सयपत्री लगाएका गोविन्द अधिकारी गत भाद्रदेखि बजारमा फुल निर्यात गरिरहेको अनुभव सुनाउनुहुन्छ । उहाँले यस बर्ष मात्र १ लाख भन्दा बढीको फुल विक्री गरेको जानकारी दिनुभयो । घर वरपरको बारी र कान्लामा लगाएको फुलले व्यावसायिकता लिन थालेपछि फुलकै क्षेत्रमा  लगानी गरेर उद्यमी कृषक बन्ने उहाँको सपना छ ।
उहाँहरूले शुक्लागण्डकी नगरपालिका दुई स्थानमा गरी झन्डै ३ रोपनी क्षेत्रफलमा सयपत्री फुल उत्पादन गर्नुभएको छ । यहाँ उत्पादन हुने फुल शुक्ल गण्डकी बजारसँगै पोखराका बजारमा खपत हुने गरेको छ । फुल उत्पादकहरूले सिजनको  बेलामा पोखराको बजारमा मात्र झन्डै करोड बराबरको फुल खपत गर्न सक्ने अनुभव सुनाउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button