भीमदत्त नगरपालिकामा मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयर उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिएको छ । नगरवासीलाई उद्यमी व्यवसायी बनाउने उद्देश्यले नेपाल बैंक लिमिटेडसंग सहकार्य गरी कार्यक्रम सञ्चालन गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो ।
अब उद्यम व्यवसाय गर्न चाहने नागरिकले आफ्नो व्यावसायिक योजनाको आधारमा नगरपालिकाको सिफारिसमा बैंकबाट ऋण प्राप्त गर्न सक्ने छन् । कृषि, गैरकृषि, पशुपालन र जडीबुटी लगायतका व्यवसायमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड बीच सम्झौता भएको छ ।
भीमदत्त नगरपालिकाले उद्यम व्यवसाय गर्न चाहने व्यक्तिलाई कर्जा उपलब्ध गराउन बैंकमा कोष स्थापना गर्ने र सो कोषमा नगरपालिकाले जम्मा गर्ने रकमको आधारमा बैंकले कर्जा दिने छ । त्यसका लागि यस वर्ष भीमदत्त नगरपालिकाले कोषमा एक करोड रकम जम्मा गर्न लागेको छ । कोभिड १९ को संक्रमणका कारण भारतसहित तेस्रो मुलुकमा रोजगारी गुमाएका र रोजगारी पाउन नसकेका नगरवासीलाई प्राथमिकतामा राखिने नगर प्रमुख बिष्टले बताउनु भएको छ ।
सहुलियतपूर्ण कर्जामा पनि पुरुषलाई ३ दशमलव ८ र महिलालाई २ दशमलव ८ प्रतिशत ब्याजमा ऋण दिइने नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक कमल बहादुर चन्दले बताउनु भयो ।
यद्यपी बैंकबाट लिएको ऋणको ब्याज भने भीमदत्त नगरपालिकाले तिरिदिने सम्झौतामा उल्लेख गरिएको छ । उद्यमी व्यवसायी छनौट देखि सिफारिस सम्म नगरपालिका र बैंकबीच सहकार्य हुने शाखा प्रबन्धक चन्दले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्