तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण खेलको नाम घोषणा

अजय बम, काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल खेलको नाम ‘मुजिव वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ रहने भएको छ ।

बंगालदेश फुटबल फेडेरेशन (विएफएफ) ले आइतबार नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेलको नाम घोषणा गरेको हो । बंगलादेशका राष्ट्रपिता भनेर चिनिने बंगबन्धु शेख मुजीबुर रहमानको १०० औं जयन्तीको अवसरमा मैत्रीपूर्णको नाम घोषणा गरिएको हो ।

बीएफएफका अध्यक्ष काजी मोहम्मेद सलाहुद्धिनले मैत्रीपूर्णको नाम घोषणा गरेका थिए ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।

२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ भने बंगलादेश समूह ‘ई’ मा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button