तपाईँ सुन्दै हुनुहुन्छः

खाद्यान्न पाएपछि जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिहरु हर्षित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ९३ वर्षिया वृद्धा काण्डी शेर्पाले आँशु खसाल्दै भन्नुभयो, खाद्यान्न पाउँदा धेरै खुशी लागेको छ, बुढेशकालमा सहयोग गर्नेको जय राम्रो होस् । उहाँले वडा नं. १ भरीका जेष्ठ नागरिक र क र ख वर्गका अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरेपछि उहाँ जस्ता दर्जनौँ वृद्धवृद्धाहरु खुशी भएका हुन् ।

अल्ट्रा म्याराथन ओलम्पिकका विश्व च्याम्पियन धावक दाछिरी दावा शेर्पाद्वारा खोलिएको ‘एशोसिएसन दावा शेर्पा पारानिस एण्ड मारानिस पोर्ली नेपाल’ संस्थाद्वारा कोरोना कहरले असर परेका विपन्न वडा भरीका १३१ जना जेष्ठ नागरिक तथा अशक्त अपाङ्गलाई खाद्यान्न वितरण गरिएको हो ।

खाद्यान्न पाएपछि टाक्सिन्दुकै किर्तिमानी आरोही बाबुछिरी शेर्पाका ८४ वर्षिय लाक्पा शेर्पाले खाद्यान्न पाएपछि धेरै राहत भएको बताउनुभयो । कोरोनाले ढुवानी पनि सहज नभएको तथा हामी जस्ता नसक्ने बुढाबुढीलाई खाद्यन्न सहयोग पाउँदा दैनिकी सहज हुनेछ, उहाँले भन्नुभयो । अर्की ८३ वर्षिया वृद्धा पशी शेर्पाले पनि चामल पाएपछि नाच्दै धन्यवाद दिनुभयो ।

टाक्सिन्दुको टाग्गोन सेन्डुप थर्लिङ गुम्बाका औतारी लामा टुल्कु ङवाङ थर्चेन रिम्पोछेले प्रमुख अतिथिको रुपमा राहत वितरण गर्दै यो एकदमै धर्मको काम भएको बताउनुभयो । त्यस्तै, वडा अध्यक्ष छोङ्बा लामा शेर्पाले गाउँका गरिब तथा निम्न आर्थिक अवस्था भएका जेष्ठ नागरिक तथा अशक्तलाई यो महामारीको समयमा सहयोग गरेर सरकारलाई सहयोग गर्ने काम सराहनीय भएको बताउनुभयो ।

रहात वितरण गर्ने संस्थाका अध्यक्ष फुछिरिङ शेर्पाले यसअघि विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै अहिले कोरोनाको महामारीको समयमा पहिलो प्राथमिकता खाद्यान्न भएकाले सदरमुकामबाट केही दुर्गममा रहेको टाक्सिन्दुमा खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो ।

ऋधिकांश जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरु परिवारका सदस्यको भरमा जीविकोपार्जन गर्नुपर्ने र महामारीका कारण परिवारका सदस्यको समेत काम धन्दा बन्द भएको अवस्थामा मानवीयताको हिसाबले सहयोग वितरण गरिएको उहाँले बताउनुभयो । खाद्यान्न वितरण गरिएका अधिकांश वृद्ध र अशक्तहरु गरिब तथा विपन्न रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button