बागलुङमा भलिबल प्रशिक्षण केन्द्र स्थापना हुने
बागलुङ । बागलुङको गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र स्थापना भएको छ ।
व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित केन्द्रमा प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो ।
प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् ।
बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसले बताउनुभयो ।
भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले दिने प्रशिक्षणका लागि शुरुमा भर्नासहित दुई हजार रुपैयाँ शुल्क तोकेको र त्यसपछि मासिक १५ सय रुपैयाँ शुल्क लाग्ने नियम बनाईएको छ ।
‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित भलिबल प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताउनुभयो ।
खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
गलकोटको भू–बनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवर्द्धन गर्न कठिनाइ छ । भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ ।
सानो मैदान, सीमित खर्चमा खेल्न सकिने भलिबलले बच्चादेखि ज्येष्ठ नागरिक सम्मलाई लोभ्याउँछ । मेला, महोत्सव र पर्वको अवसरमा वर्षेनि दर्जनौँ ठूला–साना प्रतियोगिता गलकोटमा आयोजना गरिन्छ ।
विद्यालय उमेरदेखि नै भलिबलमा पोख्त र कुशल खेलाडी तयार गर्न प्रशिक्षण केन्द्रले सघाउने विश्वास लिइएको छ । अहिले प्रशिक्षण लिइरहेका युवायुवती पनि कम उमेरका छन् ।
गलकोटले भलिबलमा राम्रा प्रतिभालाई जन्म दिएको छ । गत १३ औँ दक्षिण एसियाली खेलकुदमा गलकोट नगरपालिका–१० पाण्डवखानीकी सोफिया पुनले भलिबलतर्फ काँस्य पदक हासिल गर्नुभएको थियो । यस्तै बिच भलिबलमा गलकोटकै राजु विकले नेपाली राष्ट्रिय टिमका तर्फबाट खेल्नुभएको थियो ।
गम्भीर भण्डारी, योगेश भण्डारी लगायतका पुराना खेलाडीले राष्ट्रिय–अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए । जिल्ला भलिबल सङ्घका अध्यक्ष समेत रहनुभएका श्रीसले भलिबल खेलको विकासमा सबै खेलप्रेमी र सरोकार भएका पक्षको हातेमालो चाहिने बताउनुभयो ।
यसअघि बिहीबार प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको उत्थानमा नगरपालिका सँधै सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्