प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी प्रस्ताव

रुपन्देही । पाँच नम्बर प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ बनाउने प्रस्ताव आज प्रदेश सभामा पेश भएको छ ।
प्रदेश सरकारले आज शुक्रबारको बैठकमा राजधानी र नामांकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर सो प्रस्ताव अघि बढाएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले सो प्रस्ताव पेश गर्नुभएको थियो ।
राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । सो मत पूरा हुने देखिएको छ । सभामा पेश भएलगत्तै विपक्षी दलले भने यसका विरोध गरेको छ । उक्त प्रस्तावको सांसद फकुरुद्दिन खान र रमा अर्यालले तत्काल विरोध जनाउनुभएको थियो । तर सभामुख पूर्णबहादुर घर्तिले यसबारे अर्को बैठकमा छलफल हुने जानकारी दिँदै आजको बैठक समापन गर्नुभएको छ ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङ क्षेत्रमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको विश्लेषण गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्