जुम्ला सदरमुकाम सिल

जुम्ला । दुई दिनमै ४६ जनामा कोरोना संक्रमण पृष्टी भएपछि जुम्ला सदरमुकाम खलङ्गा पुनः सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना स्वास्थ्यकर्मी सहित अन्य गरी ४६ जना संक्रमित भेटिएपछि दिउँसो ३ बजेदेखि खलङ्गामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
गएको आइतबारदेखि कोरोना मुक्त भएको जुम्लामा दुई दिनमै ४६ जनाको सङ्ख्यामा संक्रमित ह्वात्तै बढेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पुनः निषेधाज्ञा जारी गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनु भयो ।
चन्दननाथ नगरपालिकाको पूर्वमा दासाँघु, पश्चिममा उमगाड्, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रको चार किल्ला क्षेत्रमा अर्को सूचना नहुन्जेल पूर्ण रूपमा शील गरिएको छ । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी र अन्य गरी बुधवार २४ र बिहीबार २२ जना गरी ४६ जनामा संक्रमण देखिएको डाक्टर अनुपमंगल समालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा दुई दिनमा ७६ जनाको पीसीआर परिक्षण गरिएको मध्य ४६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राखिएको छ ।
बिहीबार देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक बाहेक अन्य सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ । बिरामीकै उपचारको क्रममा धेरै सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द गरिएको डाक्टर समालले बताउनु भयो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार दिउँसो ३ बज देखि अर्को निर्णय नभएसम्मका लागि संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गएको छ ।








प्रतिक्रिया राख्नुहोस्