तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका १८ मध्ये १६ पालिकाका क्वारेन्टाईन खाली

जनकपुरधाम । धनुषा जिल्लामा रहेका १८ मध्ये १६ वटा पालिकामा रहेको क्वारेन्टाईनहरु खाली भएका छन् ।

खास गरेर भारत तथा विश्वका अन्य देशबाट आएकाहरुलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था अनुसार जिल्लाको गणेमान चारनाथ तथा मिथिला नगरपालिकामा मात्र १९ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी गणेशचन्द्र मिश्रले जानकारी दिनुभयो ।

गणेमान चारनाथ नगरपालिकामा १५ जना तथा मिथिलामा ४ जना क्वारेन्टाईनमा रहेका छन् भने अन्य १६ वटा पालिकाको क्वारेन्टाईन खाली नै रहेको छ । सबै पालिकाहरुमा कम्तिमा पनि एक वटा क्वारेन्टाईन राख्नका लागि आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भयो । अहिले जिल्लामा क्वारेन्टाईनमा ९ सय ३९ शैया रहेका छन् ।

दुई महिना अगाडी १८ पालिकामा ८० वटा क्वारेनटाईन ४ हजार २ सयसम्म बस्ने गरेकोमा अहिले भारत सहित अन्य देशवाट फर्किने जिल्लाबासी नेपालीको संख्या ज्यादै थोरै रहेका कारणले क्वारेन्टाईन खाली भएको सूचना अधिकारी मिश्रले जानकारी दिनु भयो ।

अहिले धनुषा जिल्लामा ८ जना मात्र कोरोनाका संक्रमित रहेका छन् । उनीहरु आईसोलेशनमा बसेर उपचार गराईरहेको पनि जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । त्यस मध्ये ५ जना पुरुष तथा ३ जना महिला रहेका छन् ।

हालसम्म धनुषामा ११ हजार २ सय ५६ जनाको पि सि आर परीक्षण गरेकोमा १ हजार ८६ जनामा कोरोना संक्रमणको पुष्टि भएकोमा १ हजार ७८ जना निको भएर घर फर्किएका छन् भने आठ जना आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले लकडाउन खुलेकाले संक्रमण फैलिने खतरा अहिले पनि रहेकाले सतर्क रहनका लागि जिल्लाबासीमा आग्रह गर्दै मास्क, सेनिटाईजरको प्रयोग गर्नुपर्ने, पटक पटक साबुन पानीले हात धुनुपर्ने तथा भौतिक दूरी कायम गर्नुपर्ने विषयमा सचेत गराईदै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button