तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुद : ४ स्वर्णसहित बागमतीको अग्रता

नेपालगन्ज । दशौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अघि नेपालगन्जमा सुरु भएको पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपको पहिलो दिन दुई खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपालगन्ज रङ्गशालामा भएको पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका छन् । यसअघि उनले सन् २०२६ मा भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा ३०.६६ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

त्यस्तै महिलातर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन् । यसअघि भारतको गुहाटीमा सन् २०१६ मा भएको ११औँ सागमा सोफिया शाहले ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् । सोफियाको कीर्तिमान १०औँ राष्ट्रिय खेलकुदको हिट चरणमा नै लिली र नेपाल आर्मी क्लबकी डुआना लामाले भङ्ग गरेका थिए । तर, लिलीको नाममा भने ५ मिनेट १७.०१ सेकेन्डको राष्ट्रिय राष्ट्रिय कीर्तिमान बनेको छ । हिट चरणमा लिलीले ५ मिनेट २१.५२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान तोड्न सफल भएकी थिइन् भने डुआनाले पनि राष्ट्रिय कीर्तिमानलाई पछि पार्दै ५ मिनेट २५.१७ सेकेन्डमा पूरा गरेकी थिइन् ।

नेपालगन्जस्थित पौडी पोखरीमा भएको सुरुआती दिनमा बागमती प्रदेशले सर्वाधिक ४ स्वर्ण पदक, २ रजत र ३ कास्य पदक जित्दै अग्रता लिएको छ । एनआरएन टिमले ३ स्वर्ण र १ रजत सहित दोस्रो, आर्मी २ स्वर्ण ४ रजत र १ कास्य सहित तेस्रो स्थानमा छ । पुलिसले १ स्वर्ण २ रजत र ६ कास्यसहित चौथो, १ स्वर्ण सहित कोशी प्रदेश पाँचौँ र २ रजत जितेको सुदूरपश्चिम छैटौँ स्थानमा छ ।

यसैगरी मङ्गलवार भएको खेल अन्तर्गत १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण ९१७ मिनेट ४८।६१ सेकेन्ड०, सुदूरपश्चिमका अर्थब सिंहले रजत (१८ मिनेट ०६.९४ सेकेन्ड) र नेपाल पुलिस क्लबका रचित बुढाथोकीले कास्य (१९ मिनेट ५५.६० सेकेन्ड) पदक जिते । महिला ४०० मिटर व्यक्तिगत मिडलेमा एनआरएन लिलीले स्वर्ण (५ मिनेट १७.०१ सेकेन्ड), आर्मीकी डुआनाले रजत (५ मिनेट ३३.३९ सेकेन्ड) र पुलिसकी देभान्सी जोशीले (६ मिनेट ४२ सेकेन्ड) कास्य पदक प्राप्त गरिन् ।

५० मिटर पुरुष ब्रेस्टस्ट्रोकमा कोशीका विकासले स्वर्ण (३०.८४ सेकेन्ड), आर्मीका जाडेन श्रेष्ठले रजत (३१.१३ सेकेन्ड) र पुलिसका इर्भिन श्रेष्ठले (३१.६० सेकेन्ड) ले कास्य पदक जिते । ५० मिटर महिला ब्रेस्टस्ट्रोकमा आर्मी डुआनाले स्वर्ण (३६.२५ सेकेन्ड), बागमतीकी रोयल प्रजापतिले (३७.२२ सेकेन्ड) कास्य र बागमतीकै प्रज्ना ताम्राकारले (३८.७० सेकेन्ड) कास्य पदक जितिन् । १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिव प्रधानले (५३.०३ सेकेन्ड) स्वर्ण, पुलिसका इर्भिनले (५४.६२सेकेन्ड) रजत र आर्मीका अल्भीन महर्जनले (५४.९३ सेकेन्ड) कास्य पदक हासिल गरे ।

१०० मिटर महिला फ्रिस्टाइलमा एनआरएन मिखा काया थापाले स्वर्ण (१ मिनेट ०२.९३सेकेन्ड), आर्मीकी डुआनाले रजत (१ मिनेट ०३.०४ सेकेन्ड) र एनआरएन लिलीले कास्य पदक (१ मिनेट ०४.०१ सेकेन्ड) हासिल गरिन् । २ सय मिटर ब्रेस्टस्ट्रोकमा बागमतीका अभिवले स्वर्ण (२ मिनेट २०.६५ सेकेन्ड), सुदूरपश्चिमका अर्थव सिंहले रजत (२ मिनेट २३.३ सेकेन्ड) र बागमतीका रिभान्त बहादुर श्रेष्ठले कास्य (२ मिनेट २८.०३ सेकेन्ड) जिते ।

महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा एनआरएन मिखाले स्वर्ण (२ मिनेट ३९.६४ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (२ मिनेट ४०.७२ सेकेन्ड) र बागमतीकी आर्या महर्जनले कास्य पदक (२ मिनेट ४०.७७ सेकेन्ड) जितिन् ।

४ गुणा १०० मिटर पुरुष मिडलेभ रिलेमा आर्मीले स्वर्ण (४ मिनेट १३.०६ सेकेन्ड), बागमतीले रजत (४ मिनेट १९.६४ सेकेन्ड) र पुलिसले कास्य (४ मिनेट २०.१५ मिनेट) जित्यो ।

महिला ४ गुणा ५० मिटर फ्रिस्टाइल रिलेभमा बागमतीले स्वर्ण (२ मिनेट ०१.३० सेकेन्ड), आर्मीले रजत (२ मिनेट ०२.६३ सेकेन्ड) र पुलिसले कास्य (२ मिनेट ०५.२६ सेकेन्ड. जित्यो । त्यस्तै मिक्स ४ गुणा ५० मिटर फ्रिस्टायल रिलेभमा बागमतीले स्वर्ण (१ मिनेट ५०.२७ सेकेन्ड), आर्मीले रजत (१ मिनेट ५१.४६ सेकेन्ड) र पुलिसले कास्य (१ मिनेट ५३.१३ सेकेन्ड) प्राप्त गरेको छ ।

नेपालगन्ज रङ्गशालामा चार दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button