तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न नागरिकलाई घरविहीन बन्न नदिने मुख्यमन्त्री थापाको प्रतिबद्धता

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका कुनै पनि विपन्न नागरिकलाई घरविहीन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मङ्गलवार हेटौँडाको मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ परिवारलाई कपडा तथा भाँडाकुँडा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापा आर्थिक अवस्था कमजोर भएका, आफ्नो घर बनाउन नसक्ने तथा आवासको अभावमा रहेका नागरिकलाई लक्षित गरी प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक हजार घर निर्माण गर्ने गरी बजेट विनियोजन गरेको जानकारी दिनुभयो। 

उहाँले विशेष गरी चेपाङ समुदायको आवास समस्या समाधानलाई प्राथमिकतामा राखिएको बताउनुभयो । घरविहीन चेपाङ परिवारका लागि प्रतिपरिवार चार लाख रुपैयाँका दरले घर निर्माण गर्ने प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । मुख्यमन्त्री थापाले आवाससँगै विपन्न परिवारको आयआर्जन र आर्थिक आत्मनिर्भरतालाई पनि प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । 

बस्तीका नागरिकको अवस्था देखेपछि तत्काल मानवीय सहयोग जुटाउन आफूले पहल गरेको उहाँले सुनाउनुभयो । मुख्यमन्त्रीको आग्रहपछि विजय अग्रवालले मारवाडी सेवा समिति, मारवाडी महिला मञ्चलगायत संस्थासँग समन्वय गरी सहयोग जुटाउनुभएको थियो । उक्त सहयोग वितरण कार्यक्रममा प्रदेश सरकारले कुनै आर्थिक रकम विनियोजन नगरेको स्पष्ट पार्दै उहाँले समाजसेवी रेखा खेतान लगायतको टोलीले सामग्री व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतानको अध्यक्षतामा आयोजित कार्यक्रममा हेटौँडाको मनहरि गाउँपालिका–७, समिलडाँडास्थित चेपाङ बस्तीका ३५ परिवारलाई विभिन्न अत्यावश्यक सामग्री वितरण गरिएको थियो । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको उक्त बस्तीका परिवारलाई जाडोबाट बच्न र दैनिक जीवनयापन सहज बनाउन खानेकुरा पकाउने भाँडाकुँडादेखि लत्ताकपडा तथा ओढ्ने–ओछ्याउने सामग्री उपलब्ध गराइएको हो ।

कार्यक्रममा स्थानीय चेपाङ परिवारलाई डेक्ची, कराई, प्रेसर कुकर, डाडु-पन्यु, बाल्टी, पानी खाने मग, थाल, गिलास, ग्यास, खटिया, सिरक-डसना, कम्बल, झुल, ज्याकेट, टोपी तथा अन्य कपडाहरू हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button