तपाईँ सुन्दै हुनुहुन्छः

१० औँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा पुलिस क्लब विजयी

काठमाडौँ । नेपाल पुलिस क्लबले मङ्गलवारबाट सुरु भएको १० औँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ ।

सुर्खेतस्थित नवनिर्मित कर्णाली रङ्गशालामा समूह ‘ए’ अन्तर्गतको खेलमा पुलिसले कर्णालीलाई २–० को जित दर्ता गरायो । पुलिसको जितमा दीपेन्द्र शाहले ३६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै सुजन मगरले गोल गरेपछि विभागीय टोलीको जित निश्चित भएको थियो ।

सशस्त्र प्रहरी बलको एपिएफ र सुदूरपश्चिम प्रदेशले १० औँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा विजयी सुरुआत गरेका छन् ।

सुर्खेतमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ५२–१९ को स्कोरमा पराजित गर्‍यो ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को प्रतिस्पर्धात्मक स्कोरमा निराश पार्यो । 

मङ्गलवारै सुरु भएको महिला ३ बाई ३ विधामा बागमती र आर्मीले जित हासिल गरे । बागमतीले आयोजक कर्णाली प्रदेशलाई ९–६ को अन्तरमा हराउँदा आर्मीले एपिएफमाथि १७–१२ को जित दर्ता गरायो । कप्तान सिता राना मगर, राष्ट्रिय टिमकी कप्तान इन्दु बर्मा र रेवती धामीको अर्ध शतक प्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १० औँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

महिला क्रिकेटअन्तर्गत समूह ‘बी’ को खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि १५८ रनको फराकिलो अन्तरमा विजय हासिल गर्‍यो ।

टस जितेर पहिला ब्याटिङ गरेको एपिएफका लागि सिता, इन्दु र रेवतीले अर्ध शतक प्रहार गरेपछि टोलीले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १९७ रनको विशाल योगफल तयार गरेको थियो ।

जवाफमा लुम्बिनीलाई १५.४ ओभरमा ३९ रनमा अलआउट गर्दै स्टार खेलाडीले भरिपूर्ण एपिएफ फराकिलो जितको हकदार बन्यो ।

मङ्गलवारै पहिलो दिन महिला क्रिकेटअन्तर्गत भएको समूह ‘ए’ को पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ६ विकेटको जित हासिल गरेको थियो ।

महिला क्रिकेटमा बुधबार समूह ‘सी’ का बागमती र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ भने अर्को खेलमा समूह ‘ए’ का कोशी र कर्णाली प्रदेशले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button