तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि ११ बजे फेरि बस्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आजदेखि सुरु भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनः स्थापित गर्न भूमिका खेल्ने गरी बैठकले पार्टीको आगामी नीति र कार्यदिशा तय गर्ने बताउनुभयो । 

गएको निर्वाचनबाट काँग्रेसले प्रतिपक्षी दलको भूमिका पाएकोले सरकारका राम्रा काममा सहयोग गर्ने, कमजोरीमा प्रश्न उठाउने र आवश्यकताअनुसार खबरदारी गर्ने प्रतिपक्षीको भूमिका प्रभावकारी बनाउने सभापति थापाले बताउनुभयो । 

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनादेशलाई सम्मान गर्दै उसलाई पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्छ भन्नेमा काँग्रेसको स्पष्ट रहेको पनि सभापति थापाले उल्लेख गर्नुभयो । 

सभापति गगन थापाले सरकारले अध्यादेशमार्फत शासन गर्ने सोचबाट अगाडि बढेको भन्दै त्यसको काँग्रेसले सशक्त विरोध गर्ने पनि बताउनुभयो ।

सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा छलफलका लागि नेपाली काँग्रेसले सङ्गठन विस्तारका लागि सञ्चालन गर्न लागेको हामी तयार छौ अभियान सहितका विभिन्न छ वटा विषयहरू तय गरेको छ । 

बैठकमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित सुकुम्वासी व्यवस्थापन लगायत नागरिकका सरोकारका विषयमा केन्द्रीय समितिको बैठकमा छलफल हुने कार्यसूची पेश गर्नुभयो । 

यस्तै सरकारका पछिल्ला गतिविधि तथा स्थानीय तहको आगामी निर्वाचन माथिको  प्रारम्भिक छलफल समेत काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको कार्यसूचीमा समेटिएको छ । 

बैठक भोली बिहान ११ बजे सानेपामा पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button