तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा दुर्लभ वन्यजन्तु सालकको वैज्ञानिक अध्ययन सुरु

बाँके। दुर्लभ वन्यजन्तु सालकको वास्तविक अवस्था, उपस्थिति र बासस्थान पहिचान गर्न बाँकेमा पहिलोपटक वैज्ञानिक अध्ययन सुरु गरिएको छ ।

सालकको आवतजावत, गतिविधि र बासस्थानको अवस्था पत्ता लगाउने उद्देश्यले वन क्षेत्रमा क्यामेरा ट्र्याप जडान गरी अनुसन्धान अघि बढाइएको हो ।

अनुसन्धान टोलीले बाँके राष्ट्रिय निकुञ्ज आसपासका वन क्षेत्र तथा डिभिजन वन कार्यालय बाँकेको कार्यक्षेत्रभित्र पर्ने सम्भावित बासस्थानमा क्यामेरा जडान गरी अध्ययन गरिरहेको छ ।

क्यामेरा ट्र्यापबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणपछि जिल्लामा सालकको उपस्थिति, गतिविधि र बासस्थानबारे वैज्ञानिक जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले ग्रीन अस्कार अवार्डको सहयोगमा अध्ययन सुरु गरेको हो । नेपालमा इन्डियन र चाइनिज गरी दुई प्रजातिका सालक पाइन्छन् ।

सालकले कमिला र धमिरा खाएर वनको पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । एउटा वयस्क सालकले वर्षमा करिब सात करोडसम्म कमिला र धमिरा खाने अनुमान छ ।

तर, बासस्थान विनाश, चोरीसिकारी र अवैध व्यापारका कारण सालक संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।

सालक विज्ञ डा. तुल्सी लक्ष्मी सुदालले यसको वास्तविक अवस्था र बासस्थान पहिचान गरी प्रभावकारी संरक्षण योजना बनाउन वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज, राप्तीसोनारी गाउँपालिका र डिभिजन वन कार्यालय बाँकेको सहकार्यमा भइरहेको अध्ययनबाट प्राप्त नतिजाले सालकको बासस्थान संरक्षण, चोरीसिकारी नियन्त्रण तथा दीर्घकालीन संरक्षण रणनीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button