तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा भोटेकोशी बाढीलगायत विपद्का समयमा छिमेकी भारत सरकारले ‘फष्ट रेस्पोन्डर’ का रुपमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका दुई पक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार यहाँ आइपुग्नु भएको थियो । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गर्नुभएको थियो ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । 

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button