तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाई भोली शुक्रवार र शनिवार हुने 

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाई भोली शुक्रवार र शनिवार हुने भएको छ ।

संसदीय सुनुवाई समितिको आज बसेको बैठकले भोली शुक्रवार बिहान उजुरी कर्ताहरूसँग छलफल गरेर दिउसो सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो ।

यसैगरी समितिले प्रस्तावित न्यायाधीशहरू जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाई पर्सि शनिवार गर्ने निर्णय गरेको छ । 

सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरू विरुद्ध  १३ जनाले उजुरी हालेका छन् र उक्त उजुरीहरू अध्ययनका लागि आज समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।

जसमा बागचन्द विरुद्ध ५ वटा उजुरी परेको छ भने सारू विरुद्ध ६ वटा, पाण्डेको विरुद्ध १० वटा र डाँगीको विरुद्ध ४ वटा उजुरीहरू परेका छन् । 

यसैगरी प्रस्तावित चारै जना न्यायाधीशका विरुद्ध पाँच जनाले उजुरी हालेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

समितिले यही कात्तिक ९ गते प्रस्तावित न्यायाधीशका विरुद्ध उजुरी आह्वान गरेको थियो ।

उनीहरूलाई न्याय परिषद्को गत असोज २० गतेको बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button