तपाईँ सुन्दै हुनुहुन्छः

तिहारको रमझम: घर-घर पुगेर दियो र हुक्कापाती बेच्न व्यस्त छन् कुमाले महिला

सप्तरी। तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले समुदायका महिलाहरू दियो र हुक्कापाती बेचेर पर्वको खर्च जुटाउने प्रयासमा व्यस्त बनेका छन्। दीपावली (लक्ष्मीपूजा) का लागि आवश्यक माटोको दियो र हुक्कापाती बिक्री गर्न उनीहरू राजविराजलगायत क्षेत्रका घर-घर पुग्ने गरेका छन्।

दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न परिवारका महिलाहरूले चाडबाडको खर्च जुटाउन हुक्कापाती र दियोलाई प्रमुख आयआर्जनको माध्यम बनाएको राजविराज नगरपालिका–११ की कविता यादवले बताउनुभयो। उहाँका अनुसार तिहार आउनु केही समयअघिदेखि नै दियो र हुक्कापाती तयार पारी बिक्री गर्ने र प्राप्त रकमबाट तिहार मनाउने विगतदेखिकै परम्परा रहँदै आएको छ।

दुई हजार रुपियाँ बराबरको कच्चा पदार्थबाट हुक्कापाती बनाएर बिक्री गर्दा १५ हजार रुपियाँसम्म आम्दानी हुने व्यवसायीहरू बताउँछन्। हुक्कापाती तयार पार्नका लागि सन्ठी (पाटको सिन्का), खर र सनपाट घरमा ल्याएर घण्टौँ मिहिनेत गर्नुपर्छ। कुमाले समुदायले घर-घरमै तयारी सामान पुर्‍याइदिने भएपछि सहरी क्षेत्रका उपभोक्तालाई आफैँ सामग्री जुटाएर हुक्कापाती बनाउने बाध्यता हटेको छ।

विगतमा घर-घरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्ने क्रम बढेको राजविराज नगरपालिका–७ की उर्मिला देव बताउनुहुन्छ। “पहिले बजारमा बनेको हुक्कापाती किन्न पाइँदैनथ्यो, सन्ठी, खर र सनपाट किनेर ल्याई घरमै बनाउने चलन थियो,” उहाँले भन्नुभयो, “अहिले सहरी क्षेत्रमा हुक्कापाती आफैँ बनाउने क्रम घट्दै गएको छ र किनेर प्रयोग गर्ने परम्परा बढेको छ।”

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक सातायता हुक्कापाती बनाउन भ्याइनभ्याई छ। घरको काम सकेर तयार पारेको हुक्कापाती बेचेर तिहारको समयमा १५ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ। “लक्ष्मीपूजा नजिकिँदै जाँदा बिक्री पनि बढ्छ। अहिले दैनिक ३०० देखि ५०० वटासम्म हुक्कापाती बिक्री भइरहेको छ, प्रतिहुक्कापाती १० देखि २० रुपियाँमा बेच्ने गरेकी छु,” उहाँले भन्नुभयो। उहाँले प्रत्येक वर्ष तिहारको एक महिना अघिदेखि यही व्यवसाय गर्दै आउनुभएको छ।

तराई-मधेसमा लक्ष्मीपूजाको दिन साँझ पूजाअघि घरको धुरी, तुलसीको मठ, कुलदेवताको कोठा तथा मन्दिरहरूमा हुक्कापाती राख्ने चलन छ। लक्ष्मीपूजा सकिएपछि परिवारका सदस्यहरू मिलेर हुक्कापाती खेल्ने (बाल्ने) अनिवार्य परम्परा छ। यसो गर्दा पितृहरू उज्यालो मार्ग भएर स्वर्ग प्रस्थान गर्छन् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।

यसैगरी तिलाठी कोइलाडीकी कविता पण्डित पनि यतिबेला माटोको दियो बनाउन व्यस्त हुनुहुन्छ। घरको काम सकेर दियो तयार पार्ने र घर-घर पुर्‍याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो। तराई-मधेसमा तिहारदेखि छठ पर्वसम्म माटोका भाँडाकुँडाको माग उच्च हुने गर्छ।

उहाँ दैनिक करिब दुई हजार वटा दियो बोकेर बजार पुग्ने र प्रतिदियो दुई रुपियाँका दरले बिक्री गर्ने गर्नुहुन्छ। पण्डितका अनुसार यो सिजनमा दियो बिक्रीबाट मात्रै २० देखि ४० हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button