चार दशकको पैदल यात्राको दुःख बिर्संदै फत्तेपुरवासी, गाउँमा कालोपत्र सडक
बाँके। कुनै समय सरकारी तथा गैरसरकारी निकायका कर्मचारीसमेत सरुवा भएर जान हिचकिचाउने बाँकेको फत्तेपुरमा अहिले विकासको चित्र फेरिँदै गएको छ । सडक सुविधाको अभावमा दुर्गम मानिने पूर्वी बाँकेको यस क्षेत्रमा सडक विस्तार तथा कालोपत्रको कामले गति लिएसँगै स्थानीयवासीमा खुसी छाएको छ ।
राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका बाबुलाल पाण्डेका लागि अहिले गाउँमा देखिएको परिवर्तन कुनै सपनाभन्दा कम छैन । चार दशकअघिको दुःख सम्झँदै उहाँ भन्नुहुन्छ, “त्यतिबेला मकै, घ्यू र चामल बोकेर पैदलै नेपालगञ्ज पुग्नुपर्थ्यो । आफूले लगेको सामान बेचेर वा साटेर नुन, चिनी र चियापत्ती किन्थ्यौँ अनि फेरि एक दिन हिँडेर घर फर्किन्थ्यौँ । सडक र बिजुलीको सुविधा त कल्पना गर्न पनि कठिन थियो ।”
पाण्डेका अनुसार धान बेच्न जाँदा राप्ती नदी तर्ने क्रममा स्थानीयवासीले अनेकौँ सास्ती भोग्नुपर्थ्यो । कतिपयले नदीमा ज्यान गुमाउनुपरेको र केही व्यक्ति अङ्गभङ्गसमेत भएको पीडादायी विगत सम्झँदा अहिले गाउँमा भएको विकासले आफूलाई अचम्मित बनाउने उहाँ बताउनुहुन्छ ।
स्थानीय नुर मोहम्मद खाँका अनुसार सडक विस्तारसँगै गाउँलेको दैनिकीमा परिवर्तन आएको छ । उहाँले कालोपत्र सडक निर्माणले आवागमन सहज हुनुका साथै गाउँको विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
स्थानीय खुसीराम दुबेले पनि सडक निर्माणले दैनिक जीवन सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । “वर्षायाममा हिलो र हिउँदमा धुलोले हैरान हुन्थ्यौँ । अब बिरामी पर्दा अस्पताल लैजान र आवश्यक कामले बजार पुग्न सहज हुने आशा पलाएको छ”, उहाँले भन्नुभयो ।
त्यस्तै, पतिलाल रैदासका लागि सडक विकास आवागमनमा सहजता मात्र नभई गाउँको भविष्यसँग पनि जोडिएको छ । “हाम्रा लागि कालोपत्र सडक भनेको बाटो मात्र होइन, गाउँमा विकास आएको अनुभूति हो । अब हाम्रा छोराछोरीले हामीले भोगेजस्तो दुःख भोग्न नपरोस् भन्ने आशा छ”, उहाँले भन्नुभयो ।
स्थानीय लल्ला खाँले पनि गाउँमा सडक निर्माण हुनु लामो समयदेखिको अपेक्षा पूरा हुनुजस्तै भएको बताउनुभयो । उहाँका अनुसार कालोपत्र सडक निर्माण भएपछि सामान्य कामका लागि समेत टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
विगतमा सडक, यातायात र अन्य पूर्वाधारको अभाव झेल्दै आएको पूर्वी बाँकेको जनजीवन पछिल्ला वर्षमा परिवर्तन हुँदै गएको छ । सङ्घीयता कार्यान्वयनपछि स्थानीय तहले सडक निर्माण तथा स्तरोन्नतिमा लगानी बढाएका छन् । प्रदेश र सङ्घीय सरकारका योजनासमेत कार्यान्वयनमा आउँदा ग्रामीण बस्तीलाई मुख्य सडकसँग जोड्ने क्रम तीव्र बनेको छ ।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुका अनुसार वडाका विभिन्न बस्तीमा सडकको पहुँच विस्तार भएको छ । कच्ची सडकसमेत नपुगेका बस्ती नरहेको उल्लेख गर्दै उहाँले कालोपत्र हुन बाँकी सडकमा पनि क्रमशः काम अघि बढिरहेको बताउनुभयो ।
वडाध्यक्ष थारुका अनुसार गेन्दवा, भर्था, फत्तेपुर र पिप्रहवा गाउँलाई जोड्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल सम (पीएस) सहित उक्त सडक निर्माणमा छ करोड ५२ लाख ३३ हजार ३८८ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
विगतमा वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीयवासीलाई कालोपत्र सडक निर्माणले राहत पुगेको छ । सडक बनेपछि कृषि उपज बजारसम्म पुर्याउन, दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न तथा बिरामीलाई अस्पताल लैजान सहज हुने अपेक्षा गरिएको छ ।
वडाध्यक्ष थारुले निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’को पहलमा सडक कालोपत्र गर्ने योजना अघि बढाउन सहयोग पुगेको बताउनुभयो । उहाँका अनुसार २०८२ मङ्सिर २ गते सम्झौता भएको सडक निर्माणको काम २०८४ जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनी सक्षम निर्माण सेवा प्रालिले निर्धारित समयअगावै काम पूरा गरेको हो ।
चार दशकअघि दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत दिनभर पैदल यात्रा गर्नुपर्ने फत्तेपुरमा अहिले कालोपत्र सडक विस्तार हुनु स्थानीय पूर्वाधार विकासको उल्लेखनीय परिवर्तन हो । विगतको कष्टकर जीवन भोगेका पुस्ताका लागि गाउँमा देखिएको यो परिवर्तन सडक निर्माणमा मात्र सीमित छैन, सहज आवागमन, सेवा सुविधामा पहुँच र उज्ज्वल भविष्यप्रतिको आशासँग पनि जोडिएको छ ।








प्रतिक्रिया राख्नुहोस्