डोल्पा कारागारबाट सुरुङ खनेर आठ जना फरार कैदीबन्दी फरार
सुर्खेत । डोल्पा कारागारबाट आठ जना कैदीबन्दी फरार भएका छन् । गएराती जिल्ला सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर भागेका आठै जना कैदीबन्दीको आज जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरूको पहिचान सार्वजनिक गरेको हो ।

सुरुङ खनेर कारागारबाट भाग्नेमा रुकुम पश्चिमको आठविस्कोट नगरपालिका– १० का ३२ वर्षीय राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालिप्रसाद रोकाय, सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र डोल्पाको त्रिपुरासुन्दरी–४ का २८ वर्षीय धन बुढा भन्ने हरिबहादुर बुढा रहेका छन् ।
उनीहरू जबर्जस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार, रुकुम पश्चिमको आठविस्कोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र रुकुम पश्चिमको आठविस्कोट नगरपालिका–३ का ३२ वर्षीय आदेश भण्डारी चोरी मुद्दामा पुर्पक्षको लागि थुनुवामा थिए ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएको जानकारी दिनुभयो । उहाँले ४.६३ मिटर लामो सुरुङ खनेर कारागारबाट उनीहरू फरार भएको बताउनुभयो । उहाँका अनुसार आज बिहान कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना कम भएपछि घटना सार्वजनिक भएको हो ।
यता जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख (डिएसपी) अनिलराज गिरीका अनुसार घटनाबारे कारागारको सिसिटिभी फुटेज लगायत अनुसन्धान भइरहेकाले कैदीबन्दी कुन समयमा फरार भए भन्ने यकिन हुन नसकेको बताउनुभयो । फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्