तपाईँ सुन्दै हुनुहुन्छः

काभा लिगका कारण प्रथम किङ्स कप राष्ट्रिय भलिबल प्रतियोगिता सर्‍यो

पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा सञ्चालन हुने प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को मिति सरेको छ । यसअघि आगामी मङ्सिर १ गतेदेखि ६ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गर्ने तय भएको प्रतियोगिता अब मङ्सिर ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको क्लबका सचिव अशोक थापाले जानकारी दिनुभयो ।

भारतमा नोभेम्बर १५ देखि २२ (कार्तिक २९ देखि मङ्सिर ६ गते ) सम्म आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपाली राष्ट्रिय भलिबल टोली समेत सहभागी हुने भएकाले प्रतियोगिताको मिति सारिएको उहाँले जनाउनुभयो । प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित आयोजक क्षेत्रको गण्डकी प्रदेश भलिबल टोली तथा अन्य दुई टोली गरी कुल ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकले विभिन्न प्रायोजक, सरकारी निकाय, टिकट बिक्री, सहयोगी संस्था तथा सञ्चार माध्यम लगायतका स्रोतबाट ७१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button