मुगुमा ७१औँ प्रहरी दिवस मनाइयो: शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा नागरिक सहकार्यमा जोड
मुगु। मुलुकमा साइबर अपराधलगायतका आपराधिक गतिविधि बढ्दै गएकाले शान्ति–सुरक्षा कायम गर्न नागरिक समाज, स्थानीय सरकार, सञ्चारकर्मी र सुरक्षा निकायबीच मजबुत सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । ७१औँ प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय मुगुद्वारा आयोजित विशेष समारोहमा वक्ताहरूले सो कुरा बताएका हुन् ।

समारोहमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) रविराज थपलिया र प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्तबहादुर भुजेलले जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रहरी सदैव क्रियाशील रहेको बताउनुभयो । अपराध नियन्त्रण तथा नागरिकको जीउधनको रक्षाका लागि समाजका सबै पक्षको निरन्तर सहयोग आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मुगु शाखाका संस्थापक अध्यक्ष विनोदकुमार मल्लले प्रहरीलाई विपद्का सारथि र नागरिकको जीउधनका सच्चा रक्षकको रूपमा चित्रण गर्नुभयो । विपद्का बेला गरिने उद्धार, नागरिक सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीले निर्वाह गर्दै आएको भूमिकाले समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो । साथै, प्रहरी र नागरिकबीचको आपसी विश्वास तथा सहकार्यले नै सुरक्षित र सभ्य समाज निर्माण सम्भव हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका अमर प्रहरीका परिवारजनलाई सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न दर्जाका प्रहरी कर्मचारी तथा सञ्चारकर्मीहरूलाई पनि प्रशंसापत्रसहित सम्मान गरियो ।
प्रहरी दिवसका अवसरमा आयोजित यस कार्यक्रमले प्रहरीको अतुलनीय योगदानको स्मरण गराउनुका साथै शान्ति–सुरक्षा सुदृढ बनाउन प्रहरी–नागरिक समन्वयलाई अझ प्रगाढ बनाउनुपर्ने सन्देश प्रवाह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्