तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधि र व्यावसायिकताबाट मात्रै किसानको समृद्धि सम्भव: कृषि विज्ञ

काठमाडौँ। सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताउनुभएको छ । 

छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरुले सो धारणा राख्नुभएको हो । 

उहाँहरूले व्यावसायिक खेती, नवप्रवर्तन र नयाँ प्रविधिको प्रयोगबाट किसानको समृद्धि सम्भव हुने दाबी गर्नुभएको छ । कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सरकारले कृषिको आधुनिकीकरण, कृषि बिमा, मलमा अनुदान र डिजिटल कृषिलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले कृषिमा नवप्रवर्तन, प्रविधिको प्रयोग, बजारसँगको पहुँच र मूल्यको उचित विश्लेषणले किसानको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । 

कार्यक्रममा मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले खाद्य उपभोगमा विविधता बढे पनि कुपोषण, खाद्य असुरक्षा र अस्वस्थकर खानपानको समस्या कायम रहेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तन, खेतीयोग्य जमिनको क्षयीकरण, कृषि उत्पादन लागतमा वृद्धि र खाद्य आपूर्ति शृङ्खलामा आउने अवरोध नेपालको खाद्य तथा पोषण सुरक्षाका प्रमुख चुनौती बनेको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनलाई कृषि र खाद्य सुरक्षाको भविष्यमा प्रभाव पार्ने प्रमुख चुनौतीका रूपमा चित्रण गर्नुभयो । 

सहसचिव श्रेष्ठले प्रतिहेक्टर वार्षिक ८७ टन माटो बगेर जाने गरेको उल्लेख गर्दै माटो संरक्षणलाई खाद्य सुरक्षा र दिगो कृषिको प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

त्यसैगरी खाद्यका लागि कृषि अभियानका अध्यक्ष उद्धव अधिकारीले व्यावसायिक कृषि तथा उत्पादन वृद्धिका लागि खेतीयोग्य जमिनको खण्डीकरण रोक्नुपर्ने बताउनुभयो । 

  कार्यक्रममा भोजपुरका सङ्गीता श्रेष्ठ प्रधान, सिरहाका हरिदेवी चौधरी, काभ्रेपलाञ्चोकका लक्ष्मी मुडभरी, लमजुङका केशकुमारी गुरुङ, गुल्मीका मिना ताम्राकार, दैलेखका कल्पनाकुमारी थापा भण्डारी र कैलालीका अमृता डगौरा तथा राससका सहसमाचारदाता भीष्मराज ओझालाई कदरपत्र तथा नगदसहित सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button