रेडपाण्डा संरक्षणमा गौरीशङ्कर संरक्षण क्षेत्र
दोलखा । गौरीशङ्कर संरक्षण क्षेत्र भित्र उल्लेख्य संख्यामा सानो र सुन्दर संरक्षित वन्यजन्तु रेडपाण्डा (हाब्रे) रहेको आँकलन गर्दै यसको संरक्षण र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ।

संरक्षण क्षेत्र भित्र पर्ने दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा रेडपाण्डाको उपस्थिति देखिए पनि यकिन संख्या भने निश्चित भइनसकेको कार्यालय प्रमुख सन्तोष शेरचनले जानकारी दिए। “रेडपाण्डा एक सानो र सुन्दर संरक्षित जनावर हो,” कार्यालय प्रमुख शेरचनले भने, “यसको संरक्षण गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य दुवै हो।”
रेडपाण्डा संरक्षणका लागि गौरीशङ्कर संरक्षण क्षेत्रले वासस्थान संरक्षण, पानीको सहज उपलब्धताका लागि संरक्षण पोखरी निर्माण, रेडपाण्डा सम्बन्धी अध्ययन, उनीहरूको उपस्थिति पहिचान गर्न दिसा, पदचिन्ह, रौँ तथा अन्य सम्भावित सङ्केतहरूको सर्वेक्षण, रेडपाण्डा पार्क निर्माण, क्यामेरा ट्र्यापिङ एवं रेडपाण्डा पकेट क्षेत्र तथा ट्रेल पहिचानजस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

रेडपाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम र समुद्र सतहबाट २,२०० देखि ४,८०० मिटरको उचाइमा पाइने लजालु स्वाभावको आकर्षक जनावर हो। बाँस र निगालो रेडपाण्डाको मुख्य आहार भएकाले यो जनावर बाँस-निगालाका घना झाडी र घना जङ्गलमा पाइने गौरीशङ्कर संरक्षण क्षेत्रका संरक्षण अधिकृत डा. विदुर खड्काले बताए। बाँसको टुसा पलाउने समयमा रेडपाण्डा कहिलेकाहीँ मानव बस्तीनजिकसम्मै पुग्ने गरेको स्थानीयवासी बताउँछन्।
संरक्षण अधिकृत डा. खड्काका अनुसार ४० देखि ६४ सेन्टिमिटरसम्म लम्बाइ हुने रेडपाण्डाको तौल औसत ५ किलोग्रामसम्म हुन्छ। यो जनावर नेपाल, भारत, भुटान, म्यानमार र चीनमा पाइन्छ।
गौरीशङ्कर संरक्षण क्षेत्र अन्तर्गत दोलखाको खारे-सोथली, मार्बु-कोप्लाङ, गोजीपाखा, रोलवालिङ क्षेत्रका बेदिङ, डोङनाङ, सुरी-मस्तिङग, श्यामा, कालिञ्चोक तथा रामेछापको चुचुरे, गुम्देल र सिन्धुपाल्चोकको घोर्थली, गुम्बा, लिस्ती, तातोपानी लगायतका क्षेत्रमा रेडपाण्डाको उपस्थिति रहेको छ।
भौतिक पूर्वाधार निर्माण, मानवीय गतिविधि, अवैध चोरी-शिकारी र वासस्थानको खण्डीकरण जस्ता कारणले रेडपाण्डा सङ्कटमा पर्दै गएको डा. खड्काले बताए। हाल संरक्षण क्षेत्रले मार्बु-च्छोरोल्पा मार्गमा रेडपाण्डा पकेट क्षेत्र तथा संरक्षण पदमार्ग विकासको सम्भाव्यता अध्ययन, स्थानीय समुदाय, विद्यालय, पर्यटन व्यवसायी र पदयात्री लक्षित सचेतना कार्यक्रमका साथै अवैध शिकार, पासो र वासस्थान विनाशसम्बन्धी सम्भावित जोखिमको अनुगमन कार्यलाई तीव्रता दिएको छ।
(तस्बिर सौजन्य: गौरीशङ्कर संरक्षण क्षेत्र)
(नोट: समाचारमा रहेका केही शब्दका हिज्जे तथा वाक्य गठनलाई थप स्पष्ट र पठनीय बनाउन परिमार्जन गरिएको छ।)








प्रतिक्रिया राख्नुहोस्