महोत्तरीको औरही नगरपालिका साक्षर घाेषणा

महोत्तरी। महोत्तरीको औरही नगरपालिका ९७.८५ प्रतिशत साक्षरता दर हासिल गर्दै साक्षर नगरपालिका घोषित भएको छ। यससँगै औरही महोत्तरी जिल्लाको नवौँ साक्षर स्थानीय तह बनेको छ।
एक विशेष समारोहका बीच मधेस प्रदेशसभा सदस्य सुरिता साहले नगरप्रमुख प्रदीपकुमार खड्कालाई साक्षर नगरपालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।

साक्षरता अभियानका क्रममा नगरपालिकाभित्रका १५ देखि ६० वर्ष उमेर समूहका १९ हजार ३९७ जना नागरिकको साक्षरता अवस्थाको मूल्याङ्कन गरिएको थियो। यसका लागि नौवटै वडाका सात हजार ४२ घरधुरीबाट तथ्याङ्क सङ्कलन गरिएको नगरपालिकाले जनाएको छ।
२०८३ वैशाखदेखि सञ्चालन गरिएको अभियानमा नगरपालिकाले ७२ जना साक्षरता सहजकर्ता परिचालन गरेको थियो। अभियानमार्फत नागरिकहरूलाई सामान्य पढ्न, लेख्न, साधारण हिसाबकिताब गर्न, मोबाइल तथा क्याल्कुलेटर चलाउन, घडी हेरेर समय बताउन र दैनिक जीवनमा आवश्यक पर्ने व्यावहारिक सीप सिकाइएको थियो।
उक्त अभियानमा सेभ द चिल्ड्रेन, आसमान नेपाल (जनकपुरधाम) तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (बर्दिबास) ले प्राविधिक सहयोग गरेको नगर उपप्रमुख रेणु झाले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्