मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते
मुगु। मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सडक निर्माणका क्रममा माथिबाट खसेको सुक्खा पहिरोमा परी स्काइभेटरसहित चालक पुरिएका छन्। सोही घटनामा परी सहचालक घाइते भएका छन्।

बेलिब्रिज जोड्ने स्थानमा सडक खन्ने क्रममा सोमबार बिहान करिब ८:३० बजे एक्कासि माथिबाट सुक्खा पहिरो खसेको थियो। पहिरोमा बा ३ क ३२७६ नम्बरको स्काइभेटर र त्यसका चालक २४ वर्षीय विमल बाग पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी सोरू गाउँपालिका–१ निवासी २२ वर्षीय सहचालक विनय मल्ल घाइते भएका छन्। माथिबाट खसेको ढुङ्गाले लागेर उनको हात र खुट्टामा चोट लागेको छ। घाइते मल्लको अवस्था सामान्य रहेको र उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएका चालकको उद्धारका लागि इलाका प्रहरी कार्यालय रातापानी र प्रहरी चौकी माझचौरबाट १३ जना प्रहरीको टोली घटनास्थलमा खटिएको छ। प्रहरी र स्थानीयको सहयोगमा पहिरो पन्छाएर बेपत्ता चालकको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।








प्रतिक्रिया राख्नुहोस्