परम्परागत ‘गाबन’ बनाउने पुर्ख्यौली सीप जोगाउँदै मुगुकी माया भाम
मुगु । बाहिरी तथा आधुनिक पहिरनको बढ्दो आकर्षणसँगै मुगुका मौलिक पहिरनको प्रयोग क्रमशः घट्दै गएको छ। नयाँ पुस्तामा परम्परागत पोसाकप्रतिको रुचि हराउँदै गएका बेला छायानाथ रारा नगरपालिका–४, भामवाडाकी ६४ वर्षीया माया भाम भने आफ्नो पुर्ख्यौली सीप र सांस्कृतिक पहिचान जोगाउन निरन्तर लागिरहनुभएको छ।

मायाले वर्षौंदेखि मुगुका महिलाले लगाउने परम्परागत ‘ठेटुवा गाबन’ मा ‘छिपो’ (बुट्टा) लगाउने परम्परागत सीपलाई निरन्तरता दिँदै आउनुभएको छ। स्थानीय जङ्गलमा पाइने तोरो, मजिठोलगायतका जडीबुटी तथा वनस्पतिको मिश्रणबाट प्राकृतिक रङ तयार गरी काठको सानो छापको सहायताले गाबनमा आकर्षक बुट्टा भर्ने गरिन्छ।
कुनै समय मुगुका महिलाको मुख्य पहिचान र संस्कृतिसँग जोडिएको यो पहिरन आयातित तथा तयारी (रेडिमेड)कपडाको प्रयोग बढेसँगै ओझेलमा पर्दै गएको छ। यद्यपि, मायाले हरेक वर्ष परम्परागत विधिबाटै छिपो लगाएका गाबन तयार गर्दै आफ्नो पुर्ख्यौली कला र सीपलाई जीवित राख्नुभएको छ।
यो सीप केवल कपडामा बुट्टा भर्ने कला मात्र नभई स्थानीय जडीबुटीको पहिचान, प्राकृतिक रङ बनाउने ज्ञान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको अमूल्य सांस्कृतिक सम्पदा पनि हो। तर, यस्तो परम्परागत प्रविधि अहिले अघिल्लो पुस्ताका महिलामा मात्र सीमित बन्न पुगेको छ। नयाँ पुस्ताले सिक्न र अपनाउन चासो नदेखाउने हो भने सीपसँगै स्थानीय प्रविधिसमेत केही वर्षमै लोप हुने जोखिम बढेको छ।
मायाजस्ता सीपयुक्त स्रष्टाको पहिचान गरी उनीहरूसँग रहेको ज्ञान र प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्ने सरोकारवालाहरू बताउँछन्। स्थानीय सरकार तथा सम्बन्धित निकायले यस्ता मौलिक सीपको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा ध्यान दिन सके मुगुको सांस्कृतिक पहिचान जोगिनुका साथै स्थानीय उत्पादनलाई समेत व्यावसायिक बजार दिन सकिने प्रशस्त सम्भावना छ।







प्रतिक्रिया राख्नुहोस्