देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु, तीन घाइते
दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु छ भने तीन जना घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लुप्र०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको लुप्र ०२–००१ ख ०१११ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका–३ मजगाउँमा एकापसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमैमगरको मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तीव्रगतिमा लमहीतर्फ आउँदै गरेको यात्रुवाहक बसमा ठोक्किएको थियो ।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्लीमगर, सोही ठाउँकी सङ्गिता सोमैमगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन् । घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्