बीपी नेत्र प्रतिष्ठानद्वारा ४१९ दृष्टिविहीन तथा श्रवण अपाङ्गता भएका बालबालिकाको उद्धार
भक्तपुर । बालबालिकाको जीवनमा आशाको किरण फैलाउँदै आएको बीपी नेत्र प्रतिष्ठान (चियर्स) लोकन्थलीले ४१९ दृष्टिविहीन, न्यून दृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाको उद्धार गरेको छ ।

प्रतिष्ठान अन्तर्गत सञ्चालित पुनर्स्थापना सेवाबाट लाभान्वित बालबालिकाको ३८औ दीक्षान्त समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पूर्णचन्द्र कर्माचार्यले स्थापना कालदेखि हालसम्म ४ सय १९ परिवारको आशा पुनः स्थापित गर्न सफल भएको बताउनुभयो ।
४ सय १९ दृष्टिविहीन, न्यून दृष्टि तथा श्रवण अपाङ्गता भएका बालबालिकाको जीवनमा शिक्षाको सुनौलो ढोका खोल्न सफल भएका प्रतिष्ठानका अध्यक्ष प्रा. डा. कर्माचार्यले जानकारी दिनुभयो ।
दीक्षित बालबालिकामा दृष्टिविहीन तथा न्यून दृष्टि भएका बालबालिकासँगै श्रवण समस्या तथा श्रवण अपाङ्गता भएका बालबालिका पनि छन् ।
जसका लागि पुनर्स्थापना सेवाले उनीहरूको आवश्यकता र क्षमताअनुसार सहयोग, सीप विकास, शैक्षिक तयारी र आत्मनिर्भरतातर्फको यात्रा सहज बनाउँदै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष कर्माचार्यले पुनर्स्थापना सेवाबाट बालबालिका र परिवारमा आएको परिवर्तनलाई संस्थाको महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका जनसम्पर्क संयोजक सचिन श्रेष्ठले पुनर्स्थापना सेवा केवल उपचारमा सीमित नभई बालबालिकालाई विद्यालय, परिवार र समाजको मूलधारमा आत्मविश्वासका साथ जोड्ने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो ।
बालबालिकाको जीवनमा दृष्टि वा श्रवणसम्बन्धी कठिनाइ आउँदा परिवारका लागि त्यो निकै चुनौतीपूर्ण अवस्था बन्न सक्ने तर उचित समयमा पहिचान, उपचार, पुनर्स्थापना, परामर्श र शैक्षिक सहयोग पाउने हो भने बालबालिकाको भविष्य नरोकिने प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्त समारोहमा कालो गाउन, टोपी र आकर्षक दीक्षान्त पोशाकमा सजिएका बालबालिकाहरू हातमा प्रमाणपत्र बोकेर उभिँदा सभाहल भावुक र भव्य बनेको थियो ।








प्रतिक्रिया राख्नुहोस्