कर्णालीका किसानलाई धान भित्र्याउन हतार

सुर्खेत । अर्नब चक्रपातको प्रभावले मौसम बदली भई पानी पर्न थालेपछि कर्णालीका किसानलाई पाकेको धान भित्र्याउन हतार भएको छ ।
आकाशमा कालो बादल मडारिन थालेसँगै वर्षाले पाकेको धानबालीमा क्षति पुर्याउने चिन्ताले किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुनु परेको हो । धान काटेर खेतमै सुकाउन राखेका किसानलाई वर्षाले भिजाउने चिन्ता छ भने काट्न बाँकी रहेकालाई हावाहुरी र पानीले धान ढाल्ने डर छ । सम्भावित वर्षाअघि नै धानबाली सुरक्षितरुपमा भित्र्याउन किसानलाई हतार भएको हो ।
कृषि विकास कार्यालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायले पाकेको धानको बाला लामो समयसम्म भिजेमा गुणस्तर बिग्रने जोखिम रहेकाले किसानलाई सतर्क रहन आग्रह गरिएको बताउनुभयो । उहाँले केही दिन धान नकाट्न र काटिसकेको भए छिटो भित्र्याउन किसानलाई अनुरोध गरिएको जनाउनु भयो । यता सुर्खेतको चौकुने गाउँपालिकाका किसान गोपाल थापाले चाडपर्वको समयमा थ्रेसर, ट्याक्टरलगायतका कृषि उपकरणको सहज उपलब्धता नहुँदा धान भित्र्याउने काम थप चुनौतीपूर्ण बनेको बताउनु भयो । उहाँले आज बिहान हल्का परेको पानीका कारण हतारमा काटिएको धान राम्रोसँग सुकाउन र सुरक्षित भण्डारण गर्न समस्या भइरहेको जनाउनु भयो ।

कर्णालीमा यो वर्ष १ लाख २५ हजार ८ सय ९५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । कर्णालीका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा बढी धान उत्पादन हुने गर्दछ । त्यसपछि धान उत्पादन हुने जुम्ला, जाजरकोट र कालिकोट जिल्ला मानिन्छन् । यस्तै हिमाली जिल्ला डोल्पा, हुम्ला, मुगु धेरै कम मात्र धान उत्पादन हुन्छ । यो वर्ष सुर्खेत जिल्लामा सबैभन्दा बढी ५२ हजार ९ सय ४ मेट्रिक टन धान उत्पादन हुने अनुमान छ ।
सबैभन्दा कम धान डोल्पामा ३ सय ५० मेट्रिक टनसम्म धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । कर्णालीको २ लाख ९९ हजार ३ सय ३९ हेक्टर क्षेत्रफल जमिन मध्य २ लाख १६ हजार ८ सय ८० हेक्टर क्षेत्रफलको जमिनमा मात्र खेती गर्ने गरिएको छ । त्यो मध्य ४५ हजार ४ सय ६८ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान खेती गरिएको छ । सुर्खेतमा सबैभन्दा बढी १२ हजार ६ सय ७९ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।








प्रतिक्रिया राख्नुहोस्