नावा खोलामा यात्रुवाहक बस फस्यो, ३० यात्रुको सकुशल उद्धार

धनकुटा । ताप्लेजुङबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस शुक्रबार अपराह्न तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्र नावा खोलामा फसेको छ ।
निरन्तरको वर्षाका कारण खोलामा बाढी आएपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै फसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । बसमा सवार सबै यात्रुलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । बस फसेपछि बसमा रहेका करिब ३० जना यात्रुहरूलाई जेसिविको सहायताले सुरक्षित स्थानमा सारिएको राजवंशीले जानकारी दिनुभयो ।
प्रदेश १–०१–००१ ख ४२३३ नम्बरको बस नावा खोलामा फसेको हो । बसको पनि जेसिविको सहायताले निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि भइरहेको वर्षाका कारण नावा खोला सहित विभिन्न खोलामा पानीको सतह बढेको छ । खोलामा पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा हुँदै पाँचथर, तेह्रथुमबाट हिमाली जिल्ला ताप्लेजुङसँग जोड्ने महत्वपूर्ण मार्गका रुपमा तमोर करिडोर रहेको छ ।
तर, नावा खोलामा हालसम्म पक्की पुल निर्माण नहुँदा वर्षायाममा बाढी आउने बित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ । पुल निर्माणको ठेक्का लागेपनि पटक पटक म्याद थप हुँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । जसले गर्दा यात्रु तथा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका छन् ।






प्रतिक्रिया राख्नुहोस्