तिनाउको बाढीले बुटवलमा पाँच घर बगायो, पूर्वसूचनाले जोगायो मानवीय क्षति
रुपन्देही। बुटवलमा तिनाउ नदीमा आएको बाढीले शनिबार राति पाँच वटा घर बगाएको छ। तर पूर्वसूचनाका आधारमा नदी छेउका बस्तीका सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन।
बुटवल उपमहानगरपालिका–११ टपमजुवाका पाँच वटा घर बाढीले बगाएको र रातभर सो क्षेत्रका स्थानीयको उद्धारमा खटिएको वडा सदस्य नकुल शाहीले बताउनुभयो।
शनिबार दिउँसोदेखि तिनाउ नदीमा पानीको बहाव बढेपछि बुटवलका बिनापाते, बुद्धनगर, मजुवा र टपमजुवा क्षेत्रका नदी किनारका सयौँ स्थानीयलाई नजिकैका विद्यालय तथा मन्दिरमा सारिएको थियो।
स्थानीयलाई नवीन स्कुल, उजिरसिंह माध्यमिक विद्यालय र जितगढीस्थित मन्दिरलगायत सुरक्षित स्थानमा सारिएको वडा सदस्य शाहीले जानकारी दिनुभयो।
शनिबार साँझदेखि नदीको सतह बढ्न थालेपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, वडाध्यक्ष रामचन्द्र खनाल, वडा सदस्य नकुल शाहीलगायत जनप्रतिनिधिले विभिन्न क्षेत्रमा पुगेर सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गर्नुभएको थियो।
इलाका प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय जनप्रतिनिधिको टोली पनि सम्भावित जोखिम भएका क्षेत्रमा खटिएको थियो।
पाल्पाका विभिन्न क्षेत्रमा पानीको सतह निरन्तर बढेपछि तल्लो तटीय क्षेत्रमा त्रास बढेको भए पनि तत्काल ठूलो जोखिम नरहेको स्थानीय आशिष सूर्यवंशीले बताउनुभयो।
अहिले तिनाउमा पानीको सतह घट्दै गएको र अवस्था सामान्य बन्दै गएको प्रहरी तथा स्थानीयले बताएका छन्।






प्रतिक्रिया राख्नुहोस्