बाढीले मिर्मी–गुल्मी जोड्ने पक्की पुल बगायो
स्याङ्जा ।अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीबाट गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने पुल बाढीले बगाएपछि दुई जिल्लाबीचको सडक सम्पर्क प्रभावित भएको हो।
पछिल्ला केही दिनदेखि लगातार भइरहेको वर्षाका कारण कालीगण्डकी नदीको जलसतह तीव्र रूपमा बढेको थियो। नदीको बहाव बढ्दै गएपछि पुलमा क्षति पुग्न थालेको र आइतबार बिहानसम्म पुल नै बगाएको स्थानीयले बताएका छन्।
पुल बगेपछि मिर्मी हुँदै गुल्मी आवतजावत गर्ने स्थानीय तथा यात्रुलाई समस्या भएको छ। दैनिक आवतजावत, स्थानीय व्यापार तथा यातायात सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ।
कालीगण्डकी नदीमा पानीको बहाव बढेसँगै नदी आसपासका क्षेत्रमा यसअघि नै सतर्कता अपनाउन आग्रह गरिएको थियो। लगातारको वर्षाका कारण नदी तथा आसपासका संरचनामा जोखिम बढिरहेका बेला पुलसमेत बगेको हो।
पुल बगेपछि तत्काल वैकल्पिक आवागमनको व्यवस्था तथा क्षतिको विवरणबारे सम्बन्धित निकायबाट थप जानकारी आउन बाँकी छ।





प्रतिक्रिया राख्नुहोस्