प्रधानमन्त्री शाहद्वारा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण
भोटेकोसी–त्रिशूली विपद् विश्वका लागि चेतावनी भएको प्रधानमन्त्री शाहको भनाइ
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोसी–त्रिशूली विपद्लाई जलवायु संकटका कारण उत्पन्न हुनसक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको हो ।
उहाँले बाढी र पहिरोका कारण परिवारका सदस्य गुमाएका, आफन्तको खोजीमा रहेका तथा घर, सडक, पुल र जीविकोपार्जन गुमाएका नेपालीहरूको अवस्थाबारे महासभामा जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री शाहले केही मिनेटमै ठूलो जनधनको क्षति हुने गरी आएको विपद्ले नेपालमा भएको विकासको गति प्रभावित बनाएको बताउनुभयो ।
उहाँले भोटेकोसी–त्रिशूली क्षेत्रमा भएको विनाशलाई स्थानीय घटनाका रूपमा मात्र नहेरी हिमालय र समग्र विश्वका लागि चेतावनीका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनले हिमालयको पारिस्थितिक प्रणालीमा पारिरहेको प्रभावबारे वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले राजनीतिक नेतृत्वले ती चेतावनीअनुसार पर्याप्त गति र स्तरमा काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले हिमनदी पग्लने क्रम, स्थायी तुषारो कमजोर हुने तथा हिमाली क्षेत्रमा बरफ र चट्टानका पहिरोको जोखिम बढ्दै गएको बताउनुभयो ।
प्रधानमन्त्री शाहले हिमालयमा देखिएका यस्ता परिवर्तन नेपाल एक्लैको समस्या नभएको भन्दै जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र विश्वव्यापी सहकार्यलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्