तपाईँ सुन्दै हुनुहुन्छः

समावेशी आर्थिक विकासमा नेपाल राष्ट्र बैङ्कसँग रेडियो नेपालको सम्झौता

काठमाडौँ I नेपाल राष्ट्र बैङ्क र सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबीच वित्तीय साक्षरता तथा वित्तीय समावेशितासम्बन्धी सूचना र सन्देश प्रवाह गर्ने सम्झौता भएको छ ।

राष्ट्रिय प्रसारणमार्फत देशका दूरदराजका सबै वर्ग र समुदायका नागरिकलाई विभिन्न भाषामा समाचार तथा वित्तीय जानकारीमा पहुँच पु¥याउने उद्देश्यले सम्झौता गरिएको हो ।

सम्झौता अनुसार रेडियो नेपाललाई राष्ट्र बैंकले मूल्य अभिवृद्धि कर सहित वार्षिक १२ लाख ९८ हजार ५ सय ९६ रुपैयाँ भुक्तानी गर्नेछ ।

सम्झौतापत्रमा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौत र नेपाल राष्ट्र बैङ्क, गभर्नरको कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक सुशील पौडेलले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत चटौतले बैङ्किङ क्षेत्रमा लैङ्गिक समानता कायम गर्न, अपाङ्गमैत्री सेवा तथा सुविधा विस्तार गर्न र सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताउँदै समावेशी आर्थिक विकासका लागि समावेशी वित्तीय प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल राष्ट्र बैङ्क, गभर्नरको कार्यालयअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक सुशील पौडेलले प्रत्येक नागरिकले आधारभूत वित्तीय साक्षरता तथा वित्तीय साधनको उचित उपयोगमार्फत वित्तीय जोखिम न्यूनीकरण गर्न जनचेतना आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button