तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय शान्ति दिवस: जलवायु क्षतिपूर्ति सुनिश्चित गराउन माग

काठमाडौँ ।  ‘शान्तिका लागि सद्भाव: जलवायु न्याय हाम्रो अधिकार’ भन्ने आह्वानसहित शान्ति समाजले मुलुकका विभिन्न जिल्लामा प्रदर्शन तथा नागरिक संवाद कार्यक्रम गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजले ४५औँ अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) का अवसरमा आज माइतीघरमा आयोजित कार्यक्रममा  ‘हिमालयको काखमा सुन्दर नेपाल: छिमेकीहरूबाट खप्दै छ दोहोरो मार’, ‘रसुवा त्रासदीबाट सिक्नुपर्ने पाठ: नदी किनाराका बस्तीहरूको वर्गीकरण र सुरक्षित पुर्नवास’, नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनका सहभागीले ‘सीमा पार हुने जलवायु तथा नदीजन्य जोखिम न्यूनीकरणका लागि नेपाल, चीन र भारतबीच सहकार्य एवं वैज्ञानिक सूचना साझेदारी आवश्यक’, ‘जलवायु न्यायको आवाज: केन्द्रबिन्दुमा समता र मानव अधिकार’, प्रकृतिको स्वभाव अनुरूप सभ्यतालाई परिमार्जन गरौँ’, ‘उद्धार राहत र पुनर्वासका लागि शीघ्र स्थायी संयन्त्र गठन गरौँ’, ‘हिमालय/नदीनालामैत्री नीति अवलम्बन गरौँ’, ‘विकास निर्माणको परम्परागत शैली पुनरावलोकन गरौँ’, ‘विनाशमुखी होइन संरक्षणमुखी विकासको मार्ग रोजौँ’, ‘विनाशबाट बच्ने संयन्त्र निर्माणमा विलम्ब नगरौँ’, ‘जलवायु शिक्षा पाठ्यक्रममा समावेश गरौँ: जलवायु संस्कृति प्रवर्द्धन गरौँ’ भन्ने आह्वान गरेका छन् ।

‘चुरे संरक्षण गरौँ: मधेस मरुभूमीकरण हुनबाट रोकौँ’, ‘भावी पुस्तालाई सुरक्षित प्रकृति हस्तान्तरण गर्ने दायित्व निर्वाह गरौँ’, ‘प्रकृतिमैत्री जीवन धारा अवलम्बन गरी अन्तरपुस्ता न्यायलाई सुनिश्चित गरौँ’, ‘संवेदनशील हिमालय क्षेत्रलाई अशान्त एवम् थप अस्थिर नबनाऔँ’, ‘पारिस्थितिक सन्तुलन कायम गरौँ, जलवायु न्याय सुनिश्चित गरौँ’, ‘सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरू नै जलवायु परिवर्तनका कारण हुने दुर्घटना र क्षतिका मूल जिम्मेवार भएकाले सोको क्षतिपूर्ति पनि तीनै राष्ट्रहरूले बहन गर्नुपर्छ’ लगायत सन्देशमूलक प्लेकार्डहरू प्रदर्शन गरिएको समाजका उपनिर्देशक सरिता पौडेलले जानकारी दिनुभयो ।

‘हिमालयमा कुनै पनि प्रकोप हुनु भनेको हिमाली, महाभारत, चुरेदेखि नेपालको समस्त तराई मधेसमा सङ्कट गहिरिनु हो’, ‘जलवायु परिवर्तनका कारण हुने आन्तरिक विस्थापन र जलवायु आप्रवासन लगायतका विषयमा राष्ट्रिय नीति तथा कानुन आवश्यक’, ‘सङ्घ, प्रदेश र स्थानीय तहमा जलवायु बजेटको प्रभावकारितासहित समन्वय आवश्यक, चाल्नी जस्तो चुरेको संरक्षण गरौँ: तराई मधेसलाई बाढी र डुबानबाट बचाउ’, ‘जलवायु परिवर्तनका कारण सबैभन्दा मारमा परेका विपन्न, वञ्चित समुदाय तथा राष्ट्रलाई न्याय एवं संरक्षण गर’,  ‘प्रकृतिमाथि न्याय गर: नेट जिरो लक्ष्य कायम गर’, जलवायु क्षतिपूर्ति सुनिश्चित गर’, ‘जलवायु न्याय सुनिश्चित गर: प्रकृति र भावी पुस्ताको भविष्यमाथि खेलबाड बन्द गर’, ‘जगत्मुखी, जीवनमुखी, सेवामुखी अभियान जलवायु न्यायका लागि शान्ति समाजको आह्वान’, ‘सद्भाव प्रवर्द्धनका लागि सहकार्यःसद्भाव बिथोल्नेहरूलाई दण्डित गर’ लगायत सन्देश प्रवाह गर्न प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।

सोक्रममा शान्ति समाजको पाल्पा शाखाले असोज ४ गते र सुनसरी शाखाले आज नागरिक संवाद र सुर्खेत, चितवनसहितका करिब छ वटा शाखाले प्रदर्शन गरेका पनि उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button