फिर्के खोला अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन पोखरा महानगरको चेतावनी
पोखरा । पोखराको फेवाताल जोड्ने प्रमुख जलाधार क्षेत्र फिर्के खोलालाई अतिक्रमणमुक्त बनाउन पोखरा महानगरपालिकाले कडा कदम चालेको छ ।

पोखरा–१८ स्थित अँधेरी कुनादेखि फेवातालको गाईघाटसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्के खोलाको खोलाघर (बहाव क्षेत्र) भित्र निर्माण गरिएका अनधिकृत भौतिक संरचना ७ दिनभित्र अनिवार्य रूपमा हटाउन महानगरले असोज ५ गते अन्तिम पटक सार्वजनिक सूचना जारी गरेको हो ।
महानगरका अनुसार तोकिएको म्यादभित्र व्यक्ति वा संस्था स्वयंले संरचना नहटाएमा महानगरपालिकाले प्रचलित कानुनबमोजिम डोजर चलाएर संरचना भत्काउनेछ । साथै, सो बापत लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै ‘सरकारी बाँकी’ सरह असुलउपर गरिने कडा चेतावनी समेत दिइएको छ । गत भदौ १५ गतेसम्म संरचना आफैँ हटाउन अन्तिम म्याद दिइएको थियो । तर, गत भदौ १० गते भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्ति र निरन्तरको वर्षाका कारण उपकरण परिचालनमा कठिनाइ उत्पन्न भई कार्यमा केही ढिलाइ हुन पुगेको महानगरले स्पष्ट पारेको छ ।
फिर्के खोलाको बहाव क्षेत्रमा पहिचान गरिएका कूल १ सय ६० वटा अनधिकृत संरचनामध्ये अधिकांश हटाइसकिएको छ भने ३३ वटा संरचना पूर्ण रूपमा भत्काइसकिएको छ । हालसम्म ५८ वटा संरचना पूर्ण रूपमा हटाउन बाँकी छन् । खोला घरभित्र रहेका बाँकी संरचनाको पछिल्लो अवस्थाबारे पूर्ण र सटीक विवरण तयार गर्न महानगरले प्राविधिक टोली तथा नगर प्रहरीलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्