बाढी प्रभावित क्षेत्रमा बस्ती स्थानान्तरण र पूर्वाधार पुनःस्थापनाको योजना अघि बढाइने: मन्त्री लम्साल
काठमाडौँ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण र पुनर्निर्माणका लागि सुरक्षित पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त क्षेत्रका उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा जोखिमयुक्त क्षेत्रलाई अध्ययन गरी सुरक्षित स्थानमा मात्र सडक निर्माणको योजना तयार पारिने जानकारी दिनुभयो ।
मन्त्री लम्सालले प्रभावित क्षेत्रका क्षतिग्रस्त पुलको तत्काल पुनर्निर्माणका लागि टेन्डर प्रक्रिया, अत्यावश्यक स्थानमा ट्रस्ट ब्रिज निर्माण तथा कनेक्टिभिटीका लागि अध्ययन गरी आवश्यक योजना अघि बढाइने बताउनुभयो ।
बैठकमा सांसदहरूले पुनर्निर्माणका क्रममा जलवायुजन्य जोखिम र वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने तथा बहु–जोखिम मूल्याङ्कन र डिजिटल पूर्वसूचना प्रणालीमार्फत समन्वय सुदृढ गर्नुपर्ने सुझाव दिनुभयो ।
बैठकमा विभिन्न मन्त्रालयअन्तर्गतका सम्बन्धित विभागका महानिर्देशकहरूले बाढी प्रभावित क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरी खानेपानी, सिँचाइ, बेलिब्रिज तथा सडक निर्माण कार्यलाई तीव्रता दिन योजना तयार भइसकेको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्