तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी : कुशको शव बनाएर पातारासीका १० जनाको सामूहिक अन्त्येष्टि

जुम्ला । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–५ का १० जनाको कुशको शव बनाएर सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ । पातारासी नदीको किनारमा १० जनाको सामूहिक दाहसंस्कार गरिएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा लामो समयदेखि काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएका उपाध्यक्ष रोकायाले उल्लेख गर्नुभयो । उहाँका अनुसार पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । 

पातारासी गाउँपालिका–५ स्थित माथिलोर्पा गाउँका १० जनाको शनिबार दाहसंस्कार गरिएको छ । तलीलोर्पा गाउँका दुई जनाको आज दाहसंस्कार गरिएको उक्त वडाका स्थानीय अगुवा भक्त बुढाले बताउनुभयो । 

भोटेकोशी बाढीले पुर्‍याएको क्षतिले पातारासीपूरै शोकमा डुबेको छ । बाढी आएको यतिका दिन भइसक्दा पनि आफन्तको कुनै खबर परिवारले नपाएपछि अन्ततः शवको प्रतिकका रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासी(५ का स्थानीय कृष्ण बुढाले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले बेपत्ताको खोजी जारी रहेपनि लामो समयसम्म कुनै खबर नआउँदा परिवारजन निराश र पीडामा रहेका बताउनुभयो । 

भोटेकोशी नदीमा गएको बाढीमा परी जुम्लाका ९३ सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेका उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button