तपाईँ सुन्दै हुनुहुन्छः

एआईदेखि विश्व बजारसम्मका विषयमा छलफल गर्दै ‘वर्डक्याम्प काठमाडौँ २०२६’ सुरु

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौँ २०२६’ शुक्रबारदेखि काठमाडौँमा शुरु भएको छ । 

वर्डप्रेस काठमाडौँको आयोजनामा शुरु भएको दुई दिने सम्मेलनमा सहभागीहरूलाई अत्याधुनिक एआई प्रविधिदेखि अन्तर्राष्ट्रिय बजारमा व्यापार विस्तार, सूचना प्रविधिको प्रयोग गर्नेसम्मका विविध विषयमा विज्ञहरुबाट तालिम प्रदान गरिने भएको छ । 

सम्मेलनमा नेपाल भारत, अमेरिका, बङ्गलादेश, फिलिपिन्स तथा युरोपका विभिन्न मुलुकका सहित ४ सय जना विद्यार्थी, आइटी विज्ञ, आएटी व्यवसायीहरू र यस क्षेत्रका जिज्ञासुहरूको सहभागिता रहेको छ ।  

सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ अन्तर्गत सहभागीहरूले विश्वभरका ४३ प्रतिशतभन्दा बढी वेबसाइट सञ्चालन गरिरहेको खुला स्रोत सफ्टवेयर वर्डप्रेसमा प्रत्यक्ष योगदान पुर्‍याउने मौका पाउनेछन् । 

सम्मेलनमार्फत कोर कोडिङ, नेपाली अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षण र सुरक्षा प्रणालीमा अन्तर्राष्ट्रिय मेन्टरहरूसँग काम गर्दै प्राविधिक सिप तिखार्न र व्यक्तिगत प्रोफाइल विश्वस्तरीय बनाउन नवप्रवेशी तथा अनुभवी सबैका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिएको छ ।

दोस्रो दिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), अटोमेसन र आधुनिक वेब विकासका साथै व्यावसायिक रणनीतिका विविध पक्षहरूमा केन्द्रित ३० भन्दा बढी प्राविधिक सत्रहरू सञ्चालन हुनेछन । नेपालसहित अमेरिका, युरोप, भारत र बङ्गलादेशका ख्यातिप्राप्त विज्ञहरूले एआईको प्रयोगमार्फत छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने तरिका, स्मार्ट प्रम्प्ट लेखन, युआई–युएक्स डिजाइनका साथै नेपालमै बसेर विदेशी ग्राहकसँग कसरी काम गर्ने र आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरी मुद्रा कसरी आर्जन गर्ने भन्ने व्यावहारिक रणनीतिहरू प्रस्तुत गर्नेछन् ।

यस पटकको सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आ–आफ्नो अनुभव र अवधारणा प्रस्तुत गर्नेछन् । प्रविधि उद्यमी अभिषेक अधिकारीले स्मार्ट प्रम्प्टिङका तरिका र १२ वर्षदेखि प्रविधि क्षेत्रमा सक्रिय उद्यमी आशुतोष गौरले कुराकानीलाई ग्राहकमा रूपान्तरण गर्ने आफ्नो ‘३ सी एबिथदययप’ प्रस्तुत गर्नु हुनेछ ्। त्यसैगरी, अनुभवी सफ्टवेयर इन्जिनियर दिनेश भट्टराईले ‘एआई–सहायता प्राप्त सफ्टवेयर विकासको सुरक्षा’ सम्बन्धी रणनीतिहरू साझा गर्नु हुनेछ  भने डिजिटल सोलुसन डिजाइनर डायना तुपासले मानिसको सेवाका लागि एआईको प्रभावकारी प्रयोगबारे आफ्ना प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम रहेको मिडिया संयोजक सरोज खनालले जानकारी दिनुभयो । 

सम्मेलनले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा युवाहरूका लागि रोजगारी, इन्टर्नसिप र उद्यमशीलताको नयाँ ढोका खोल्ने विश्वास लिइएको छ । ब्लुहोस्ट, होस्टिङ डटकम, जेटप्याक र एलिमेन्टरजस्ता विश्व प्रसिद्ध बहुराष्ट्रिय प्रविधि कम्पनीहरूको प्रत्यक्ष सहभागिता रहने भएकाले सहभागीहरूले अन्तर्राष्ट्रिय नेतृत्वसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू समेत प्राप्त गर्न सक्ने आयोजकहरूले जनाएका छन् ।

वर्डप्रेस ओपन सोर्स सफ्टवेयर हो । विश्वका ४३ प्रतिशत वेभसाइडहरु यसको प्रणाली प्रयोग गरी सञ्चालन हुने गरेका छन् । प्रविधिको प्रयोग गरी वर्डप्रेसको प्रयोग मार्फत अझ धेरै रोजगारीका अवसर तथा सम्भावना उजागर गर्न सकिने सम्भावना रहेको विज्ञहरुले बताउनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button