तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाहको आग्रह: “नवीन सोचका साथ स्वदेशमै रोजगारी सिर्जनामा जुट्नुहोस्”

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी (Gen-Z) उमेर समूहका सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरिएको जेन्जी उमेर समूहका सांसदहरूसँगको अन्तरक्रियाका क्रममा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो।

अन्तरक्रियाका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना-प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिनुभयो। साथै, राजनीतिलाई मात्र पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीन रूपमा आत्मनिर्भर बन्न र युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्न प्रधानमन्त्री शाहले आग्रह गर्नुभयो।

प्रधानमन्त्रीको उक्त भनाइप्रति सकारात्मक प्रतिक्रिया दिँदै अन्तरक्रियामा सहभागी जेन्जी उमेर समूहका सांसदहरूले यस आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएको बताएका छन्। उनीहरूले आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै नयाँ अवसरहरू सिर्जना गर्ने कार्यमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button