तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बाढी पहिरोलगायत विपद्का  पूर्व सूचना तत्काल जोखिममा रहेका नागरिकका घरदैलोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रियसभाको आजको बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै नेपाली कांग्रेस पार्टीका सांसद कमला पन्तले परिवर्तन भइरहने हिमताल र हिमनदी, बाढी पहिरोले मानव बस्तीहरूमा जोखिम बढाएको भन्दै सरकारले प्रत्येक नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउनुपर्ने बताउनुभयो ।  

उहाँले गोरखामा रहेको विमानस्थल सञ्चालन सकिने विषयमा सरकारले ध्यान दिनुपर्ने, गोरखकाली रबर उद्योग सञ्चालन गरी युवाहरूलाई रोजगारी दिनुपर्ने, हिमनदीका रुपमा चिनिने  कालीगण्डकीमा मात्रै शालिग्राम पाइने विषयमा अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेश स्वदेशी तथा विदेशी पर्यटकका आकर्षक स्थलहरूले भरिपूर्ण रहेकाले त्यहाँ पुग्ने पाहुनाहरूलाई लामो समय बस्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्दै सांसद पन्तले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।  

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद उर्मिला अर्यालले मधेश प्रदेश जनसङ्ख्याको हिसाबले दोस्रो स्थानमा रहे पनि  सामाजिक र आर्थिक हिसाबले पछि परेको भन्दै  मधेससँग सम्बन्धित चुरे संरक्षणका लागि  सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । 

उहाँले मधेशका नागरिकलाई रोजगारी, स्वच्छ खानेपानी, निःशुल्क शिक्षा, स्वास्थ्यमा पहुँच पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

बैठकमा नेकपा एमालेका सांसद रोशनी मेचेले तीन तहको सरकारबीचको समन्वय हुन नसक्दा प्रदेश र स्थानीय तहले वित्तीय सङ्घीयताको अनुभूत गर्न नसकेको बताउनुभयो । 

सांसद मेचेले धनकुटा अस्पतालको भवन निर्माण अलपत्र पर्दा १७ करोड भन्दा बढी रकम फ्रिज भएर जाँदा पनि  ठेकेदारलाई कारबाही गर्न कानूनी सामर्थ्यबाट प्रदेश सरकार वञ्चित भएको, सोलुखुम्बुस्थित  महाकुलङ गाउँपालिका पहिरोका कारण एक सय मिटर लामो ड्याम बनेको र सो ड्याम जुनसुकै बेला फुट्न सक्ने हुँदा बेलैमा त्यस क्षेत्रको नागरिकको सुरक्षामा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले तराइ मधेश प्रदेशलाई न्याय हुने गरी अहिलेसम्म बजेट विनियोजन हुन नसक्नु,   मधेशको समृद्धिसँग जोडिएको हुलाकी राजमार्ग समयमा बन्न नसक्नु राज्य संयन्त्रको कमजोरी र सरकारको मधेशप्रतिको उदासीनता भएको बताउनुभयो ।

सरकारले तराइका मधेशी र मुस्लिम समुदायभित्रको विपन्न नागरिकहरूको संरक्षण, उत्थान र सशक्तीकरणका लागि विशेष व्यवस्था गरिनुपर्नेमा सांसद खालिदले जोड दिनुभयो । 

बैठकमा सांसदहरु सुरेशकुमार आलेमगर, मिना सिंह रखाल, रेखाकुमारी झा लगायतले नेपालका प्रादेशिक विशेषतालाई मध्यनजर गरेर सरकारले पर्यटन विकासका योजना बनाउनुपर्ने, मुस्ताङमा रहेको युरेनियम खानीको विस्तृत अन्वेषण गर्न सरकारलाई आग्रह गर्नुभयो । 

यसअघि बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button