बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध: पर्यटन मन्त्री पौडेल
रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनीमा ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।

सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदाय, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार एवं स्थानीय प्रतिनिधि गरी १५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागिता रहेको सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश)ले उद्घाटन गर्नुभएको हो ।
मन्त्री पौडेलले लुम्बिनी कुनै देशको सीमाभन्दा माथि रहेको बताउँदै वृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले लुम्बिनीको संरक्षण र विकासको लागि सबैको सहकार्य खाँचो रहेको बताउँदै यहाँको सम्पदा संरक्षणमा विश्व बैङ्कको साझेदारीमा ग्लाण्ड परियोजना सुरु गरी विश्वव्यापी प्रवर्द्धन गर्न जुटेको जानकारी दिनुभयो । मन्त्री पौडेलले लुम्बिनी भ्रमण गर्ने गन्तव्यको रूपमा मात्र नभई बुद्धको शिक्षाको अनुभव गर्ने, शान्ति र करुणा विकास गर्ने, ध्यान र सचेतनाको अभ्यास र आध्यात्मिक र समग्र कल्याण पत्ता लगाउने ठाउँको रूपमा प्रस्तुत गर्नुपर्ने जनाउनुभयो । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री पौडेलले सम्मेलनले लुम्बिनी विकास कोष, युनेस्को, इकोमोस र विश्व बैङ्क, बौद्ध समुदाय, स्थानीय समुदाय, विज्ञ र हाम्रा विकास साझेदारहरू बीच साझा समझदारी निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्व विद्यालयको सभाहलमा सुरु भएको सम्मेलन उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद सिके गुप्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राई, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट, विश्व बैङ्क प्रतिनिधि इलाड सेनफेल्ड लगायतले बोल्दै बृहत्तर लुम्बिनी क्षेत्रको दिगो पर्यटन प्रवर्द्धन र सम्पदा संरक्षणमा सम्मेलन ऐतिहासिक हुने बताउनुभएको थियो । सम्मेलनमा स्थानीय पालिकाका प्रमुख एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको उपस्थिति रहेको युनेस्को संस्कृति क्षेत्र प्रमुख नभा बस्न्यात थापाले जानकारी दिनुभयो ।
बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, मायादेवीको माइतीघर देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम तथा पण्डितपुरलगायतका महत्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थलहरू रहेका छन् ।
संघीय सरकारले बृहत् लुम्बिनी क्षेत्रका लागि विश्व बैङ्कको सहयोगमा अघि बढाइएको ग्लाण्ड परियोजना अन्तर्गत यो सम्मेलन गर्न लागेको हो । सम्मेलन असोज ४ गते साझा घोषणापत्र जारी गरी सकिने छ । लुम्बिनी सन् १९९७ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत भएको सम्पदा स्थल हो । विश्व सम्पदा समितिले सन् २०२६ मा लुम्बिनीको संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा नेपाललाई थप काम गर्न आग्रह गरेको छ ।सोही अनुसार यहाँ हुने यो सम्मेलनले थप टेवा पुग्ने विश्वास गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्