प्राकृतिक विपद्को क्षतिमा जलवायु न्यायको पहल गर्नुपर्ने सांसदहरूको धारणा

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको प्राकृतिक विपद्को क्षतिका लागि अन्तर्राष्ट्रिय रुपमा जलवायु न्यायको पहल गर्नुपर्ने बताउनुभएको छ ।
बैठकको विशेष समयमा बोल्दै सांसदहरुले जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका हिमतालको सम्भावित विस्फोट तथा बाढीको जोखिमलाई मध्यनजर गर्दै विपद् पूर्वतयारी, वन क्षेत्र संरक्षण र आवश्यक सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
बैठकमा विपक्षी दलका सांसदहरुले संविधानका २ सय ४२ भन्दा बढी धारामाथि संशोधनका सुझावसहितको बहसपत्र तयार भएको कुरा सार्वजनिक भएको र दस्ताबेज अझै सार्वजनिक बहसमा नआएको विषयमा आपत्ति जनाउँदै संविधान प्रधानमन्त्री कार्यालयको गोप्य फाइल नभई जनताको दस्ताबेज भएको बताउनुभयो ।
बैठकमा सांसदहरुले धार्मिक सहिष्णुता कायम राख्न बालबालिकाका कार्टुनमा धर्म रुपान्तरणका सामग्री प्रसारण गर्न नहुने, गाउँघरका बस्तीमा धर्म परिवर्तन अभियानका गतिविधिमाथि अनुगमन बढाउनुपर्ने तथा गाई र शालिग्राम तस्करी रोक्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले विपद्बाट विस्थापित र भूमिहीन जनतालाई बसोबास र सामाजिक सुरक्षाको उचित व्यवस्था, युवा रोजगारीको अवसर सिर्जना, ग्यास अभावको समस्या समाधान, सरकारी कार्यालयहरूमा प्राविधिक विकास, भ्रष्टाचार, कालोबजारी तथा महँगी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्