तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी प्रभावितलाई कालिन्चोक मन्दिरको सहयोग

दोलखा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा उद्धारका लागि कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ ।

समितिको तर्फबाट उक्त रकमको चेक मङ्गलवार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष चन्द्रकुमार लामाले बताए । विपद्को समयमा कालिन्चोक भगवती मन्दिरको तर्फबाट प्रभावित नागरिकलाई सहयोग पुगोस् भनेर समितिले दिनसक्ने थोरै सहयोग रकम जम्मा गरिएको अध्यक्ष लामा बताए । 

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दोलखाको भीमेश्वर नगरपालिकाले ३० लाख बढी सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले राष्ट्रसेवकहरू तर्फ श्रेणी विहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको दुई दिन, सहायक स्तर कर्मचारी वा सो सरह कर्मचारीबाट पाँच दिन, अधिकृत स्तर र राजपत्राङ्कित द्वितीय वा सो सरह कर्मचारीबाट सात दिन, शिक्षकहरू तर्फ उल्लेखित श्रेणी बमोजिम र जनप्रतिनिधिहरू को तर्फबाट खाइपाइ आएको सुविधाको सात दिन बराबरबाट जम्मा हुन आउने ३० लाख ६२ हजार पाँच सय ७९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताए ।

त्यसैगरी दोलखाको बैतेश्वर गाउँपालिकाले पनि रसुवाका बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सात लाख ७० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष छवि लामाले बताएका छन् । त्यसैगरी दोलखाको गौरीशङ्कर गाउँपालिकाले पनि कोषमा सहयोग गरेको अध्यक्ष विश्वास कार्कीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button