तपाईँ सुन्दै हुनुहुन्छः

१५औँ साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ । बङ्गलादेशको ढाकामा हुने आसन्न १५औँ साफ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले मङ्गलवार नेपाली फुटबलको अनिश्चितताबिच खेल तालिका सार्वजनिक गरेको हो । खेलतालिका अनुसार, नोभेम्बर ९ मा हुने उद्घाटन खेलमा ९ पटकको च्याम्पियन भारतले पाकिस्तानको सामना गर्नेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ ।

नेपाली फुटबल अहिले फिफाको निलम्बनमा छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले असार ११ गते सरकारी हस्तक्षेप भएको भन्दै एन्फामाथि निलम्बन लगाएको थियो ।

गत अगस्ट १ तारिखमा भुटानको थिम्पुमा सहभागी टोलीहरूको समूह विभाजन भएको थियो । साफ सचिवालयका अनुसार सेप्टेम्बर ३० भित्र निलम्बन फुकुवा भए नेपाल आयोजक बङ्गलादेश, श्रीलङ्का र भुटानसँगै समूह ‘ए’ रहने बताएको थियो ।

तर, ‘डेडलाइन डे’ आउनु १५ दिनअघि नै साफले खेल तालिका तयार पारेको हो । यद्यपि साफले नेपालको निलम्बन फुकुवा भए नयाँ संशोधित खेलतालिका सार्वजनिक गर्ने कुरा उल्लेख गरेको छ ।

अहिलेको खेलतालिका अनुसार प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । नेपाली समयअनुसार राति ८ः१५ बजे आयोजक बङ्गलादेशले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सिङ्गल राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘बी’मा साबिक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन् । प्रतियोगिता नोभेम्बर १७ सम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button